Home अन्तरवार्ता ‘के गर्दा जनता खुशी हुन्छन् भन्ने कुरामा तल्लिन छौं’

‘के गर्दा जनता खुशी हुन्छन् भन्ने कुरामा तल्लिन छौं’

विष्णुगोपाल महर्जन वडा अध्यक्ष, हेटौंडा उपमहानगरपालिका–२

गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुले पालिका र वडामा जिम्मेवारी सम्हालेर काम गर्न सुरु गरिसकेका छन् । जनताको सेवा गर्ने प्रतिबद्धता व्यक्त गर्दै चुनावी घोषणापत्र सार्वजनिक गर्दै निर्वाचित भएका जनप्रतिनिधिहरु उत्साहका साथ कामको सुरुवात गर्न थालेका छन् । यद्यपि अहिले आगामी आर्थिक वर्षको बजेट निर्माणको चरणमा पनि रहेकाले उल्लेखनीय कामको सुरुवात भइहाल्ने स्थिति भने छैन । निर्वाचित जनप्रतिनिधिहरुको सुरुवाती काम र आगामी योजनाका विषयमा समाज संवाददाता आरजु सत्यालले हेटौंडा उपमहानगरपालिका २ नम्बर वडा अध्यक्ष विष्णुगोपाल महर्जनसँग गर्नुभएको कुराकानीः

समाजः वडा अध्यक्ष हुनुअघि कस्तो तयारी थियो ? बिजयी हुनुभएकोमा कस्तो महसुस भइराखेको छ ?
महर्जनः म पहिला कर्मचारी जीवन बिताएको मान्छे । मैले करिब १७ वर्ष हेटौंडा सिमेन्ट र २४ वर्ष हेटौंडा नगरपालिकामा काम गरेको हो । मैले नगरपालिकामा काम गरिरहँदा वडास्तरमा अथवा नगरपालिकाभित्रै विभिन्न खालका कामहरु देखेको थिएँ । मलाई पनि त्यो काम गर्ने इच्छा थियो । म सधैं केही न केही काम गरिरहने मान्छे, म सामाजिक क्षेत्रमा धेरै लागेको मान्छे र वडामा रहेर एकचोटि जनताको सेवा गरौं भन्ने हिसाबले तयारी गरेर आएको हुँ । अहिले मैले दिनदिनै जनताको काम गरिराखेको छु । करिब करिब आज १७, १८ दिन भयो हामीले काम गर्न थालेको । जनतासँग प्रत्यक्ष वडामै गएर, जनतासँग सिधै भेटेर उहाँहरुको समस्यासँग काम गर्न पाउँदा मलाई अत्यन्तै खुसी लागेको छ ।

समाजः अब वडामा के काम गर्नुपर्छ जस्तो लाग्छ तपाईंलाई ?
महर्जनः वडामा सामान्यतया यहाँका विकास निर्माणका कुरादेखि लिएर, सामाजिक रुपान्तरणका कुरादेखि लिएर, हाम्रो आयआर्जन कुरा र सम्पूर्ण वडाको विकास कसरी हुन्छ भन्ने कुराहरु गर्नुपर्र्ने मैले देखेको छु ।

समाजः तपाईंले पहिलो इन्जिनियरको रुपमा प्राविधिक काम गर्नुभयो । त्यो अनुभवले अहिलेको काममा कसरी सजिलो होला ?
महर्जनः विगतमा प्राविधिकको रुपमा काम गर्दा मैले विशेषगरी विकास निर्माणको काम गरेँ । त्यसले मलाई आगामी दिनमा विकास निर्माणका काम गर्दा धेरै नै सहयोग हुन्छ जस्तो लागेको छ । म आफू नगरपालिकामा काम गर्दा शहीद स्मारक, भूटनदेवी मन्दिरलगायतका धेरै धार्मिक पर्यटकीय स्थलहरुमा काम गरेको छु । त्यो कारणले गर्दाखेरी अहिले आफ्नै वडामा केही काम गर्न सकिन्छ कि भन्ने लागेको छ ।

समाजः वडा अध्यक्ष हुँदा कस्तो चुनौती सामना गर्नुपर्छ जस्तो लाग्छ, तपाईंलाई ?
महर्जनः वडामा अहिले थुप्रै चुनौतीहरु छन् । वडाका विपन्न वर्गका कुराहरु, विकास निर्माणका कुराहरु छन् । धेरै जटिल समस्याका कामहरु छन्, जुन चुनौतीपूर्ण छन् । चुनौती भइरहँदा त्यसलाई हामीले समाधान गर्न सक्यौं भने त्यसलाई अवसरका रुपमा मैले देखेको छु ।

समाजः वडामा के कस्ता काम गर्ने योजना बनाउनु भएको छ ?
महर्जनः वडामा गर्ने कामको हामीले चुनावमा प्रतिवद्धतापत्र पनि सार्वजनिक गरेका छौं । त्यो अनुसारका सबै काम गर्ने नै छौं । मैले विषेशगरी हेटौंडामा नभएका काममा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र स्थापना गर्ने अरुभन्दा फरक काम छ । विपन्न वर्गका विद्यार्थीलाई छात्रवृत्ति दिनेछौं । ठूलो योजनाका रुपमा चौकीटोलको भाटभटेनीपछाडिको बाटोलाई बेलुका मानिसहरु घुम्न जाने पर्यटकीय स्थलको रुपमा ढुंगा छापेर बाटो बनाउने योजना छ ।

समाजः वडा अध्यक्ष हुनुभएको केही दिन भयो, वडामा केही काम गर्न सुरु गर्नुभयो ?
महर्जनः काम गर्न सुरु गर्न बजेटको आवश्यकता हुन्छ । अहिले हामीसँग बजेट सकिएको अवस्था छ । पुराना प्रतिनिधिहरुले सबै बजेटअनुसारको काम गरिसक्नुभएको छ । यद्यपि मैले निर्वाचनको समयमा प्रतिबद्धता जनाएअनुसार पदबहाली गर्नुअघि नै केही न केही काम गर्छु भनेको थिएँ । त्यसअनुसार संगमचोकमा रहेको ढलमाथिको नमिलेको स्ल्याब मिलाउने काम गरेँ । सँगै संगमचोक र कांग्रेसचोकका खाल्डाखुल्डीलाई मैले व्यक्तिगत पैसा र साथ सहयोगबाट मिलाउने काम गरेको छु ।

समाजः वडामा गर्नैपर्ने कामको सूची बनाउनु भएको छ ?
महर्जनः त्यो बनाइएको छ । हाम्रो वडामा २० वटा टोल विकास समिति छ । सबै टोल विकास समितिलाई एकै ठाउँमा राखेर, तपाईंहरुको के के समस्या छ भनेर अन्तरक्रिया गरेर उहाँहरुको समस्यालाई लिखितरुपमा हामीले टिपोट गरेका छौं । त्यही आधारमा हामी अगाडि बढ्नेछौं ।

समाजः तपाईंलाई जिताउँदै गर्दा मतदाताको के अपेक्षा पाउनुभएको छ ?
महर्जनः हामीले चुनावमा भोट माग्न जाँदा विभिन्न ठाउँमा विभिन्न प्रकारका अपेक्षाहरु आएका छन् । उहाँहरुको समस्याहरु आएका छन् । त्यसलाई हामीले निराकरण गर्नेछौं, सम्बोधन गर्नेछौं भनेर प्रतिबद्धता जनाएका थियौं । अहिले त्यहीअनुसार योजना बनाएर अघि बढिरहेका छौं ।

समाजः तपाईंलाई वडा अध्यक्ष भएकोमा कस्तो लागिरहेको छ ?
महर्जनः वडा अध्यक्ष भएर जनताको सेवा गर्न पाउनु ठूलो अवसर हो । यो अवसरको साथसाथै केही चुनौतीहरु पनि छन् । यी चुनौतीहरुसँग पैंठाजोरी गरेर, यसलाई निराकरण गरेर जनतालाई खुशी बनाउने उद्देश्य हामीले लिएका छौं । देश विकास गर्ने भन्नु नै जनतालाई खुशी पार्नु हो । देश भन्नु जनता नै हो । त्यसैले हामी पनि के गर्दा जनता खुशी हुन्छन् भन्ने कुरामा तल्लिन छौं र त्यही अनुसार अघि बढ्नेछौं ।

Exit mobile version