Home मुख्य समाचार ‘एक विद्यालय एक नर्स कार्यक्रम’, रिक्त ५० विद्यालयमा वैकल्पिक उम्मेदवारलाई अवसर

‘एक विद्यालय एक नर्स कार्यक्रम’, रिक्त ५० विद्यालयमा वैकल्पिक उम्मेदवारलाई अवसर

हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय माविकी विद्यालय नर्स विद्यार्थीको स्वास्थ्य परीक्षण गर्नुहुँदै । फाइल तस्वीर ।

हेटौंडाः बागमती प्रदेश सरकारले गौरवको कार्यक्रमको रुपमा एक विद्यालय एक नर्स कार्यक्रमलाई आत्मसात गर्ने गरेको छ । सुरुवातमा एक विद्यालय एक नर्स कार्यक्रम नमूनाको रुपमा २० वटा विद्यालयमा सञ्चालन गरिएको थियो । अहिले ४ सय ६९ विद्यालयमा एक विद्यालय एक नर्स कार्यक्रम लागु भइसकेको छ ।

एक विद्यालय एक नर्स कार्यक्रम लागु भएका विद्यालयमध्ये ५० विद्यालयमा विभिन्न कारणबाट रिक्त रहेका पदमा बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले यसअघि वैकल्पिक सूचिमा रहेको नर्सहरुलाई नै नियुक्त गर्ने तयारी थालेको छ । सोमबार बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले एक सूचना प्रकाशित गरेर २०७८ सालमा लिइएको परीक्षामा वैकल्पिक सूचिमा रहेका उम्मेदवारलाई नै नियुक्त गर्ने तयारी गरेको हो ।

प्रदेशका सबै विद्यालयमा एक विद्यालय एक नर्स कार्यक्रम लागु गर्ने योजना भए पनि अहिले छिटो र सहजै नियुक्त गर्ने गरी वैकल्पिक सूचिमा रहेका उम्मेदवारलाई नियुक्ति दिन लागिएको बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री निमा लामाले जानकारी दिनुभएको छ । सबैभन्दा बढी मन्त्री लामाकै जिल्ला सिन्धुपाल्चोकमा ११ वटा विद्यालयमा नर्स रिक्त रहेको छ । वैकल्पिक सूचिमा रहेका उम्मेदवारलाई सूचना प्रकाशित भएको ५ दिन भित्र सेवा गर्न सक्ने ५ वटा पालिकाको नाम उल्लेख गरी आवेदन दिन भनिएको छ ।

रिक्त रहेका ५० विद्यालय मध्ये ३१ वटा विद्यालयमा विद्यालय रहेको पालिकाका कोही पनि वैकल्पिक सूचिमा नरहेको र १९ वटा विद्यालयका पालिकामा भने वैकल्पिक उम्मेदवार रहेको बताइएको छ । वैकल्पिक उम्मेदवार भएका पालिकाको विद्यालयको हकमा योग्यताक्रमका आधारमा नियुक्ति दिने तयारी निर्देशनालयले गरेको छ । वैकल्पिक उम्मेदवारलाई नै नियुक्ति दिनका लागि प्रदेश सरकारले ऐनमा संशोधन समेत गरेको देखिन्छ ।

Exit mobile version