सविन न्यौपाने वडा अध्यक्ष २ नम्बर वडा कार्यालय, हेटौंडा उपमहानगरपालिका

हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १ को वडा अध्यक्षमा सविन न्यौपाने पुनः निर्वाचित हुनुभएको छ । यसअघि पनि वडा अध्यक्षको रुपमा ५ वर्ष काम गरिसक्नुभएका न्यौपानेसँग वडाको विकास निर्माण तथा बजेट सम्बन्धमा समृद्ध समाजका लागि आरजु सत्यालले गर्नुभएको कुराकानीः

समाजः वडा अध्यक्ष निर्वाचित भएपछि के कस्ता काम गर्ने योजना बनाउनु भएको छ ?
न्यौपानेः वडामा धेरैखालका कामहरु हुन्छन् । विकास निर्माणका सन्दर्भमा बाटोघाटो नपुगेको ठाउँमा बाटो बनाउने । बाटोघाटो कच्ची भाएको ठाउँमा स्ल्याब ढलान गर्ने । निर्माणाधीन स्वास्थ्य चौकी छन्, त्यसलाई सम्पन्न गर्ने । खानेपानीका अधुरा योजनालाई सम्पन्न गर्ने । विद्यालयको भौतिक पूर्वाधार बाँकी भएका ठाउँमा निर्माण गर्ने । हेटौंडाको चौकीटोलको बाइपास सडक निर्माण कम्पनीका कारण अलपत्र अवस्थामा छ, त्यसलाई प्रदेश सरकारसँगको समन्वयमा सम्पन्न गर्ने । चौकीटोलबाट लालझाडी जोड्ने पक्की पुलको टेण्डर भएर पनि काम सुरु हुन लागेको अवस्थामा निर्माण कम्पनीबाट काम नभएको अवस्थामा पूर्वाधार विकास कार्यालयको तर्फबाट कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ, सोही निर्माण कम्पनीका तर्फबाट काम नभएको अवस्थामा रिटेण्डर गरेर भए पनि पुल बनाउने काम छिटो गर्नुपर्छ भन्नेमा हामी लागिरहेका छौं । लालझाडीमा खोप केन्द्र निर्माणाधीन छ, त्यसलाई सम्पन्न गर्नेलगायत अन्य सामाजिक खालका गतिविधि, विकास निर्माणका अन्य योजनाहरु सम्पन्न गर्ने भन्ने हाम्रो योजना छ ।

समाजः वडा अध्यक्षमा निर्वाचित हुनुभएको केही दिन भयो । केहि काम गर्न सुरु गर्नुभयो कि ?
न्यौपानेः चालु आर्थिक वर्ष २०७८/०७९ का सबै बजेटहरु सकिएको र केही योजना बाँकी भएकोमा समितिहरुबाट काम अघि बढिरहेको छ । नयाँ योजनाका कुनै काम सुरु भएका छैनन् । चुनावले गर्दा अड्किएका सिफारिसहरुलाई पूरा गर्ने काम भइरहेको छ ।

समाजः वडामा गर्ने कामको सूची बनाउनु भएको छ ?
न्यौपानेः वडामार्फत् गर्ने सबै कामको सूची बनाइएको छ ।

समाजः तपाइँलाई वडा अध्यक्ष बनाउन भोट हाल्ने मतदाताको अपेक्षा के पाउनुभएको छ ?
न्यौपानेः जनताको अपेक्षा व्यक्तिअनुसार फरक–फरक हुन्छन् । जे जे आफूलाई असुविधा परेको छ, त्यो असुविधाहरु सुविधामा परिणत होस् भन्ने जनताको चाहना हुन्छ । अस्पताल टाढा भएकालाई नजिकै भइदिए हुन्थ्यो भन्ने छ । बाटो नभएका ठाउँमा बाटो बनोस् भन्ने चाहना छ । पानी खान नपाउने ठाउँमा पानीको सुविधा होस् भन्ने चाहना छ । विद्यार्थी पढाउन नसकेकालाई छात्रवृत्ति पाइयोस् भन्ने चाहना छ । यस्ता खालका व्यक्तिअनुसारका फरक–फरक समस्या हुन्छन् । उहाँहरु सबैलाई आफ्ना समस्या समाधान होस् भन्ने अपेक्षा राख्नुभएको छ । त्यो अपेक्षा परिपूर्तिका लागि हामीले सक्दो प्रयास गरिरहेका छौं ।

समाजः वडामा बजेटको अवस्था के कस्तो छ ?
न्यौपानेः आगामी असारको १० गते कार्यपालिकाबाट नयाँ बजेट पास गर्नका लागि प्रत्येक वडाहरुमा कति सिलिङको बजेट पठाउने र त्यति सिलिङ बराबर बसेरचाहिँ वडा–वडाबाट योजना छनोट गर्ने भन्ने प्रक्रिया भरखर सुरुवात भएको छ । त्यसकारणले नगरपालिकाबाट हामीलाई बजेटको सिलिङ पठाइसकेपछि हामी वडामा बस्छौं । टोलटोलका, बस्तीबस्तीका समस्या के के छ ? बसेर छलफल गरेर विभिन्न टोलका समस्यामा वडा अध्यक्ष, सदस्यहरुबीच छलफल गरेर आवश्यकता अनुसार कुन–कुन टोलमा कति–कति बजेट दिने, के के काम गर्ने भन्ने विषयमा बजेट वितरण गर्ने तयारीमा छौं ।

समाजः वडा कार्यालयअगाडि नै अमर स्कूल छ, छेउमा हेटौंडा अस्पताल छ । यसका लागि कस्ता योजना तथा बजेटको व्यवस्थापन गर्नुभएको छ ?

न्यौपानेः हामीले अमर स्कूलको भूकम्पबाट क्षति भएको भवनको पुनर्निर्माण भएर सम्पन्न भइसकेको छ । विद्यालयमा साइन्स ल्याब र सभाहल पूरा गर्ने काम गरिरहेका छौं । त्यसलाई हामीले निरन्तर बजेट दिइरहेका छौं । हेटौंडा अस्पताल भनेको अहिले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत् पनि सञ्चालित छ र जिल्ला अस्पतालको स्वामित्व पनि छ । त्यसकारण हेटौंडा अस्पताललाई दिनुपर्ने सम्पूर्ण अनुदान, भौतिक निर्माणका कामहरु प्रदेश सरकार र संघीय सरकारले गरिरहेको छ । त्यसलाई हामीले वडाबाट छुट्टै बजेट दिएका छैनौं ।