हेटौंडाः मकवानपुरका चलचित्र क्षेत्रमा क्रियाशील पत्रकार र कलाकर्मीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । चलचित्र पत्रकार संघ नेपाल, मकवानपुर शाखाको आयोजनामा मकवानपुरकै चार जना पत्रकार र तीन जना चलचित्रकर्मीहरुलाई सम्मान तथा पुरस्कृत गरिएको हो । संघले राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार–२०७७ बाट विदुर गिरी, चलचित्र पत्रकारिता पुरस्कार–२०७७ राममणि दाहाललाई सम्मान गरिएको छ । गिरीलाई १० हजार र दाहाललाई पाँच हजार नगद राशीसहित सम्मान गरिएको हो ।

चलचित्र कलाकर्मी सम्मान–२०७७ बाट प्रेम भोम्जन (पुष्कर लामा), चलचित्र पत्रकारिता पुरस्कार–२०७८ बाट दीपक अधिकारी, चलचित्र कलाकर्मी सम्मान–२०७८ बाट अभिनेता राज कटुवाल, चलचित्र पत्रकारिता पुरस्कार–२०७९ बाट दीपज्योति थापा र चलचित्र कलाकर्मी सम्मान–२०७९ बाट चलचित्र लेखक तथा निर्देशक शिवम अधिकारीलाई सम्मानित गरिएको छ । प्रेम, राज, दीपज्योति, शिवमलाई नगद ५/५ हजार राशीसहित सम्मान गरिएको हो । सोही अवसरमा नेपाल पत्रकार महासंघका अध्यक्ष मणिराज गौतमलाई कदरपत्र प्रदान गरिएको छ ।

बागमती प्रदेश सरकारका संस्कृति तथा पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठको प्रमुख आतिथ्य तथा चलचित्र पत्रकार संघ मकवानपुर शाखाका अध्यक्ष कपिल खड्काको सभाध्यक्षमा कार्यक्रम भएको हो । मन्त्री श्रेष्ठले घुमफिर वर्ष २०७९ मनाउने घोषणा पश्चात चलचित्र क्षेत्रको माध्यमबाट पर्यटन विकास हुने बताउनुभयो । चलचित्रका क्षेत्रमा नीति तथा कार्यक्रम पर्याप्त समावेश गरिएको बताउनुहुँदै बजेट विनियोजन गरी कार्यान्वयन गरिने प्रतिबद्वता जनाउनुभयो ।

संघले हरेक बर्ष जेष्ठ ७ गते चलचित्र पत्रकारिता दिवसको अवसरमा पुरस्कार तथा सम्मान कार्यक्रम गरिने भएपनि स्थानीय तह निर्वाचनको कारण आइतबार प्रदान गरिएको जनाएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुनिल खड्का, बागमती प्रदेश समितिका महासचिव कृष्ण सारु मगर, चलचित्र पत्रकार संघ मकवानपुरका संस्थापक अध्यक्ष कुमार अधिकारी, ब्रोकास्टिङ एशोसिएसन अफ नेपालका उपाध्यक्ष उज्जवल चौलागाई, एनएस सिनेमाका प्रवन्धक नवराज आचार्य, मकवानपुरका कलाकार सुशाान्त कुमार श्रेष्ठको उपस्थिती रहेको थियो ।