हेटौंडाः सिविन नेपालद्वारा सञ्चालित बाल हेल्पलाइन मकवानपुरले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई ध्यानाकर्षणपत्र बुझाएको छ । शुक्रबार सातवटै प्रदेशका मुख्यमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाउने कार्यक्रमअन्तर्गत् बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेलाई पनि ध्यानाकर्षणपत्र बुझाइएको बाल हेल्पलाइन मकवानपुरका संयोजक झविन्द्र ज्ञवालीले जानकारी दिनुभयो ।
प्रदेश सरकारको कानुन, नीति तथा कार्यक्रम बालमैत्री बनाउन दबाब दिने उद्देश्यले ध्यानाकर्षण गराइएको ज्ञवालीले बताउनुभयो । प्रदेश सरकारका नीति र कानुनहरुले बालबालिका राष्ट्रिय गौरव हुन् भन्ने धारणालाई स्वीकार गर्नुपर्ने उहाँको भनाइ छ । मुख्यमन्त्रीलाई बुझाइएको ध्यानाकर्षणमा स्थानीय र प्रदेश सरकारसम्बन्धी १० बुँदे माग रहेको संयोजक ज्ञवालीले जानकारी दिनुभयो ।
बाल अधिकारलाई मौलिक हकको रुपमा सुनिश्चित गर्ने नेपालको संविधान २०७२ का प्रावधानहरु एवम् बालबालिकासम्बन्धी ऐेन २०७५ र नियमावली २०७८ ले तय गरेका कानुनी प्रावधानहरुको प्रभावकारी कार्यान्वयनका लागि माग गरिएको छ । बालअधिकार समिति, बालहेल्पलाइन १०९८ लगायतका संरचनागत प्रबन्धहरु अनुरुप आवश्यक नीति, कार्यविधि, कार्यक्रम र बजेटको व्यवस्था हुनुपर्ने ध्यानाकर्षणपत्रमा उल्लेख छ ।
नेपाल सरकारले नीति, रणनीति, गुरुयोजना, योजना, कार्यक्रम आदि मार्फत् विभिन्न समयमा जारी गरेका बालबालिकासम्बन्धी प्रतिबद्धताहरुको कार्यान्वयन हुनुपर्ने माग रहेको छ । सडकमा आश्रित, अभिभावकविहीन, हिंसा, दुव्र्यवहार, शोषण, बेचबिखन, बालविवाह, मानसिक समस्याको जोखिममा रहेका बालबालिकाको उचित संरक्षण, पुनस्र्थापना, विकास, सीप, शिक्षा र परिवारको जीविकोपार्जनका विषयलाई सम्बोधन गर्ने विशेष योजना र कार्यक्रम समावेश हुनुपर्ने ध्यानाकर्षणमा जनाइएको छ ।
बालबालिका तथा किशोरीमाथि भौतिकरुपमा वा विभिन्न अनलाइनमार्फत् हुने गरेका यौनजन्य शोषण र अपराधलाई सम्बोधन गर्नेगरी आवश्यक नीति एवम् एकीकृत बाल संरक्षण प्रणालीको विकास र क्रियाशीलताको व्यवस्थालगायतका विषयमा ध्यानाकर्षण गरिएको छ । विगत ५ बर्षदेखि बालबालिकाको क्षेत्रमा २ प्रतिशतमात्र बजेट विनियोजन हुँदै आएको भन्दै बालबालिकाको क्षेत्रमा १५ प्रतिशत बजेट विनियोजन हुनुपर्ने सिविनको माग रहेको ज्ञवालीले बताउनुभयो ।