हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको कार्यपालिकाको पहिलो बैठक प्रभावित बनेको छ । बिहीबार बिहान ८ बजेका लागि आव्हान गरिएको बैठक प्रभावित बनेको हो । कार्यपालिकाको बैठकमा मेयर, उपमेयरसहित गठबन्धन दलबाट निर्वाचित कार्यपालिका सदस्य र नेकपा एमालेबाट निर्वाचित कार्यपालिका सदस्यबीच मतभेद भएपछि प्रभावित भएको हो ।
हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाले नेकपा एमालेबाट निर्वाचित कार्यपालिका सदस्यहरुले बैठकको माइन्युटमा उपस्थिति जनाउन नमानेपछि प्रभावित बनेको जानकारी दिनुभयो । पहिलो बैठक भएकाले निर्वाचित कार्यपालिका सदस्यहरुको स्वागत तथा परिचयात्मक कार्यक्रमपछि औपचारिक बैठक सुरुवात गर्ने क्रममा एमालेबाट निर्वाचित कार्यपालिका सदस्यहरुले माइन्युटमा उपस्थिति जनाउन नमानेपछि बैठक प्रभावित भएको मेयर लामाको भनाई छ ।
बिहानको बैठक प्रभावित भएपछि हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाले बिहीबार साँझ ५ बजे बैठक बस्ने निर्णय गरे पनि एमालेबाट निर्वाचित कार्यपालिका सदस्यहरु अनुपस्थित भएपछि बैठक बस्न नसकेको बताउनुभयो । यता नेकपा एमालेबाट हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ को अध्यक्ष निर्वाचित सुनिल मोक्तानले मेयर मीना कुमारी लामाले आदेशको शैलीमा बैठकमा प्रस्ताव राख्नु, प्रस्तावमाथि छलफल नै नगरी उपस्थितिमा हस्ताक्षर गराउन खोज्नुले बैठक प्रभावित बनेको बताउनुभएको छ । बैठक प्रभावित भएपछि गठबन्धन दलबाट निर्वाचित कार्यपालिका सदस्यहरु उपमेयर राजेश कुमार बानियाँको पनि उपस्थितिमा मेयर मीना कुमारी लामाले बिहीबार साँझ मेयरको कार्यकक्षमै सञ्चारकर्मीहरुसँग बैठक अवरुद्ध भएको विषयमा जानकारी गराउनुभएको थियो ।
बैठकमा पेश हुने प्रस्तावहरु अल्पमत र बहुमतका आधारमा पारित गर्ने, नगर्ने भन्दा पनि कार्यपालिका सदस्यबीच छलफल गरेर साझा धारणा बनाई सर्वसम्मत पारित गर्ने गरी बैठक सञ्चालन गर्न आग्रह गर्दा पहिले नै उपस्थितिमा हस्ताक्षर गर्न लगाउने र आफ्नो प्रस्तावलाई पारित गर्ने रणनीति देखिएपछि बिहान बैठकमा उपस्थिति नजनाइएको र साँझ सहभागी नै नभएको वडा अध्यक्ष मोक्तानको भनाइ छ । हेटौंडा उपमहानगरपालिकाको कार्यपालिकामा मेयर र उपमेयरसहित गठबन्धन दलबाट १२ जना सदस्य छन् भने नेकपा एमालेबाट १७ जना सदस्य छन् ।
