आरजु सत्याल/प्रशिक्षार्थी
हेटौंडाः मकवानपुरको हेटौंडा उपमहानगरपालिका ९ नम्बर वडा अध्यक्षमा नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार बन्नु भएका सुकराम केसी वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । वडा अध्यक्षमा निर्वाचित भएर पदभार ग्रहण गरिसक्नुभएका केसीले आफ्नो प्राथमिकता शिक्षा, स्वास्थ्य, सफा पिउने पानी, भैतिक पूर्वाधारको विकास गर्नु रहेको बताउनुभएको छ ।
बुधबार समृद्ध समाजसँग कुरा गर्नुहुँदै वडा अध्यक्ष केसीले २०७४ को निर्वँचनबाट वडा सदस्य निर्वाचित भएर काम गरेको अनुभवका आधारमा दोस्रो कार्यकाल वडा अध्यक्षको रुपमा प्रभावकारी काम गर्ने दावी गर्नुहुन्छ । ५ बर्ष वडा सदस्यकोरुपमा काम गर्ने क्रममा जनतासँग घुलमिल हुन पाएकाले अहिले वडा अध्यक्ष भएर काम गर्न सहज हुने उहाँको बुझाई छ । गठबन्धनको सहयोगमा वडा अध्यक्ष निर्वाचित हुनुभएका केसीले वडा सदस्यमा अन्य दलका भए पनि काम गर्न असहजताको सामना गर्न नपर्ने विश्वास गर्नुभएको छ ।
चुनावको समयमा पार्टीगत कुरा थियो भने अहिले आफूहरु जनताको प्रतिनिधि भएर काम गर्नुपर्ने उल्लेख गर्नुहुँदै केसीले भन्नुभयो, ‘हिजो हामी फरक दलबीच गठबन्धन गरेर निर्वाचनमा होमिएका थियौं । अहिले हामी निर्वँचित सबै कुन पार्टीको भन्नु भन्दा पनि हामी जनप्रतिनिधि हौं । हामी जनताको काम गर्छौं ।’
पूर्वपश्चिम राजमार्गअन्तर्गत गुम्बाचोकदेखि हेटौंडा सिमेन्ट उद्योगको गेटसम्म १२ मिटरको बाटो मर्मत र विस्तारको काम छिट्टै सुरु हुने उहाँले बताउनु भयो । वडाको बजेटको सिलिङ आएपछि योजनाको प्राथमिकीकरण गरेर काम गर्ने उहाँ बताउनुहुन्छ । मतदाताहरुले आफुलाई राज्यले दिएको सेवा सुविधाबाट बञ्चित हुन नपरोस् भन्ने अपेक्षा राखेकोे केसी बताउनुहुन्छ । वडामा आउँदा सहज रुपमा काम होस् र कर्मचारीले राम्रोसँग काम गरिदियोस् भन्ने अपेक्षा मतदाताले आफुहरुमागि राखेको उहाँले बताउनु भयो ।











