हेटौंडाः बागमती प्रदेशको नीति तथा कार्यक्रम माथिको छलफलमा सभामुख सानु कुमार श्रेष्ठले बैठक सुरु गरेपछि प्रदेश सभा सदस्यहरुले उठेर प्रदेश सभामा अबरुद्ध गरेका छन् । प्रदेश सरकारले कार्यविधि विपरित काम गरेको भन्दै प्रदेश सभा सदस्यहरुले प्रदेश सभा अबरुद्ध गरी प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रदेश सभा अबरुद्ध गर्दै प्रदेश सभा सदस्य दीपक निरौलाले प्रदेश सभाको बुधबार बसेको बैठकमा गम्भिर प्रकृतिको विषय आउँदा पनि सरकारको कुनै पनि किसिमको प्रतिक्रिया नजनाएको भन्दै विरोध जनाउनु भएको हो । उहाँले भन्नुभयो, “कृषि पशुपन्छी मन्त्रालय अन्तर्गत पशुपन्छी तथा मत्स्य विकास केन्द्र हेटौंडाले पशु स्रोत केन्द्रको लागि एक करोड ६० लाख रुपैयाँ बजेट छुट्याएको थियो । गाईको लागि ४० लाख, भैंसीको लागि ४० लाख, बाख्राको लागि ४० लाख र बंगुरको लागि ४० लाख । जसमा बंगुरको स्रोत केन्द्रको लागि धादिङको नमूना बंगुर फर्ममा दिन भनिएको थियो । कर्मचारीले फिल्ड भिजिट गरेपछि बंगुर फर्म कार्यविधि अनुसार जनाए । प्रकाशित सूचना र कार्यविधि विपरित काम गर्न अनुरोध गरिएको थियो । सोही क्रममा ३ जना कर्मचारीलाई कारबाही समेत गरियो । एक जना कर्मचारीको जागिर अवधि सकिन २० दिन मात्र बाँकी रहँदा पनि सरुवा गरियो ।”
स्थलगत अनुगमन पश्चात् कर्मचारीले कार्यविधि नपुगेको जानकारी गराउँदा समेत जबरजस्ती गरिएको र ज्यान मार्ने धम्की समेत दिएकोमा प्रदेश सभा सदस्यहरुले बिरोध जनाएका हुन् । उनीहरुले सर्वपक्षीय संसदीय छानबिन समिति नबनाई सभाको कारबाही अगाडी नबढाउनु आग्रह समेत गरेका छन् । प्रदेश सभा सदस्यहरुले सभा अबरुद्ध गरेपछि सभामुख सानु कुमार श्रेष्ठले १० मिनेटको लागि प्रदेश सभा स्थगित गर्नुभएको छ ।











