हेटौंडाः संघीय सरकारको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम पारित भएको छ । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम शनिबार प्रतिनिधिसभाको दोस्रो बैठकबाट पारित भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ १० गते संघीय संसद्को दुबै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । उक्त नीति तथा कार्यक्रममाथि संसदमा छलफलपछि बहुमतले पारित गरेको हो । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्नुभएको छ ।

यसअघि प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नहरुको प्रधानमन्त्री शेरबहादुर देउवाले जवाफ दिनुभएको थियो । नीति तथा कार्यक्रममाथि केही सांसदहरुले संशोधन प्रस्ताव दर्ता गराएको भए पनि ती प्रस्तावहरु अस्वीकृत भएका छन् । आज जेठ १५ आइतबार सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछ । संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा सरकारका अर्थमन्त्री जनार्दश शर्माले बजेट प्रस्तुत गर्नुहुनेछ ।