बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट विजयी पदाधिकारीहरुले धमाधम पदभार ग्रहण गरिरहेका छन् । जेठ ५ गतेदेखि स्थानीय तहमा नयाँ प्रतिनिधि पुग्नैपर्ने कानुनी व्यवस्था भए पनि मतपरिणाम सार्वजनिक हुन समय लाग्दा पाँच दिन ढिला गरी हेटौंडा उपमहानगरपालिकाबासीले जनप्रतिनिधि पाएका छन् । पदभार ग्रहण गर्दै गर्दा प्रतिनिधिहरुले बाचा नभुल्ने प्रतिबद्धता दोहोर्याउने गर्दछन् । हेटौंडामा पनि मत माग्ने क्रममा गरेका प्रतिबद्धता पूरा गर्ने दोहोर्याइएको छ । आफूले पूरा गर्न नसक्ने वा सामथ्र्य बाहिरका कुरामा पनि नेताहरुले हुन्छ, सकिन्छ, म गर्दछु भन्ने आश्वासन दिने गरेका छन् । त्यसैले कसैले असम्भव कुरा गरेमा नेताले जस्तो नबोल्न भन्ने थेगो नै विकास भएको छ ।
पदभार ग्रहणसँगै प्रतिनिधिको काँधमा जिम्मेवारी पनि थपिएको हो । हेटौंडाका प्रतिनिधिले जिम्मेवारी लिएसँगै विपन्न १५ सय बढी नागरिलाई स्वास्थ्य बीमा गराइदिने निर्णय गरेका छन् । अत्यन्त सकारात्मक निर्णयबाट कामको सुरुवात भएको छ । पाँच वर्षसम्म धेरै निर्णयहरु गर्नु पर्नेछ । ती सबै यस्तै जनअपेक्षित र आवश्यकता केन्द्रित गर्नेतर्फ मेयर र उनको टिम सफल हुनै पर्दछ । स्थानीय तहमा सत्ता र प्रतिपक्षी भन्ने व्यवस्था छैन । सबै सत्ता पक्ष नै हो । तर आलोचना गर्नका लागि विपक्षी नै चाहिँदैन । साझा प्रस्तावलाई अघि बढाउने र असहमति भए छलफल गर्ने परम्पराको सुरुवात गर्नु पर्दछ । हिजोका दिनमा गलत परम्परा थिए भने अब सच्याएर काम गर्नु आवश्यक हुन्छ ।
मेयरले पदभार ग्रहण गर्दैगर्दा गरेका पाँचवटै निर्णय जनपक्षीय छ । नगरभित्र बसोबास गर्ने अति विपन्न घरपरिवारमध्ये हाल १ हजार ५ सय ४१ परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गर्नेदेखि १५ हजार लिटर पानी र २५ युनिट विद्युत् निःशुल्क उपलब्ध हुने भएको छ । जसको मतबाट सत्तामा पुगेको हो, उसैलाई बिर्सने नेताहरुको प्रवृत्तिविरुद्धको निर्णयका रुपमा लिन सकिन्छ । निर्णयको सुरुवात निकै उत्साजनक मान्न सकिन्छ । आर्थिक अवस्थाको कारणले शिक्षा हासिल गर्नबाट वञ्चित विद्यार्थीलाई प्रोत्साहन र सहुलियत दिन मेयर छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्ने, लैंगिक हिंसाविरुद्ध अभियान सञ्चालन गर्दै पीडित/प्रभावित महिला तथा बालबालिकालाई अल्पकालीन आश्रयस्थलमार्फत् पुनस्र्थापना कार्य गर्ने निर्णयले पहिलो कदम जनपक्षीय देखिएको छ ।
जनपक्षीय निर्णय गर्दै गर्दा सबैलाई साथमा लिएर हिँड्नुपर्ने हुन्छ । असल कामका लागि सबैले अपनत्व लिने वातावरण बनाउने दायित्व र जिम्मेवारी नेतृत्वको हो । जनताकै लागि हो, कसैले आलोचना गर्न सक्दैन भनेर एक्लै अघि बढ्ने प्रयास भए प्रक्रियालाई लिएर आलोचना सुरु हुनेछ । सामूहिकताले मात्र सफलता पाउन सकिन्छ भन्ने मूल्य मान्यतालाई हेटौंडा उपमहानगरपालिका नेतृत्वले आत्मासात गरेको हुनु पर्दछ । ठूला योजनाभन्दा नागरिकका आवश्यकताको सम्बोधन हुन जरुरी छ । भौतिक विकासका अतिरिक्त सेवा क्षेत्रलाई प्रभावकारी बनाउनुपर्ने चुनौती छ । तसर्थ पदभार लिँदै गर्दा प्राप्त जिम्मेवारी पूरा गर्दा आउने चुनौतीको जनताकै बलमा सामना गर्नसक्ने वातावरण निर्माण गर्नु पर्दछ । यस काममा नयाँ नेतृत्वलाई सफलता प्राप्त होस्, शुभकामना ।