हेटौंडाः मकवानपुरको बकैया गाउँपालिकाको ७ नम्बर वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका मानबहादुर सिन्तान ९ सय ६८ मतसहित विजयी भएका छन् । मंगलबार बिहान निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मतपरिणामअनुसार वडा अध्यक्षका प्रत्यासी नेपाली कांग्रेसका पोसबहादुर घिमिरेले ८ सय २९ मत पाउँदा, नेकपा एमालेका पूर्णप्रसाद तिमल्सिनाले ७ सय ८ मत पाएका छन् ।
वडा सदस्यमा भने नेपाली कांग्रेसका जीतबहादुर मुक्तान, नेकपा एमालेका राजकुमार तितुङ, नेपाली कांग्रेसकी विष्णुकुमारी बिश्वकर्मा र सावित्री सोराली विजयी भएका छन् । गाउँपालिका अध्यक्षका उम्मेदवार नेपाली कांग्रेसका धर्मराज लामिछानेले ७ नम्बर वडाबाट १ हजार ४ सय ९१ मत पाउँदा नेकपा एमालेकी सरला बोलखेले ७ सय ६५ मत पाएकी छिन् । यस्तै उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका भक्तबहादुर खत्रीले १ हजार ३ सय ९९ मत पाउँदा नेकपा एमालेका लालबहादुर स्याङ्तानले ७ सय ३९ मत पाएका छन् । बकैया गाउँपालिकाको १२ वटा वडा मध्ये ९ वटा वडाको मतपरिणाम सार्वजनिक हुँदा अध्यक्षका उम्मेदवार लामिछानेले ७ हजार ९ सय ५३ मत पाएका छन् भने बोलखेले ४ हजार ५ सय ३२ मत पाएका छन् । यस्तै उपाध्यक्षमा खत्रीले ६ हजार ५ सय ६७ मत पाउँदा स्याङ्तानले ४ हजार ९ सय ७२ मत पाएका छन् ।
यसअघि बकैया–१ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार आशिष तितुङ, बकैया–२ मा नेकपा माओवादी केन्द्रका विश्वराज स्याङ्तान, बकैया–६ मा नेकपा एमालेका उम्मेदवार फुलबहादुर भोम्जन, बकैया–८ मा नेकपा माओवादी केन्द्रका विष्णु नेगी, ९ को वडा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार टंकध्वज लोप्चन, बकैया–१० मा नेपाली कांग्रेसकी कमला वाईबा, बकैया–११ मा नेपाली कांग्रेसका गोपाल बहादुर नेसुर, बकैया–१२ मा नेपाली कांग्रेसका ज्ञानेन्द्र बजगाई वडा अध्यक्षमा निर्वाचित भइसकेका छन् । अब बकैया गाउँपालिकाको ३, ४ र ५ नम्बर वडाको मतगणना गर्न बाँकी छ ।










