मत गणना गर्दै ।

हेटौंडाः स्थानीय तह निर्वाचनको मतगणना देशव्यापी चलिरहँदा बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिकाको मतपरिणाम सार्वजनिक भइरहँदा राप्रपाका उम्मेदवार दीपक बहादुर सिंहले पाएको मतले एक किसिमको हंगामा भइरहेको छ । उम्मेदवारी दर्ताको दिन हेटौैंडा ओर्लिएका सिंहलाई एमालेका उम्मेदवारले प्रतिस्पर्धी नै ठानेका थिएनन् । आमरुपमा पनि मतदाताले पनि चिन्दैनन् भन्ने विश्लेषण थियो ।

मतगणना सुरु भएदेखि नै निरन्तर प्रतिस्पर्धामा देखिएका सिंहले आइतबार दिउँसोदेखि पहिलो र दोस्रो हुँदै सोमबार रातीसम्म पनि दोस्रो स्थानमा कायमै छ । उही सिंहलाई प्रतिस्पर्धी नै नठान्ने नेकपा एमालेका अनन्तप्रसाद पौडेल तेस्रो स्थानमा छन् । सत्तारुढ ५ दलीय गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी नेकपा एकीकृत समाजवादीकी मीना कुमारी लामा पहिलो स्थानमा छिन् । सोमबार राती १० बजेसम्म १७ हजार ५ सय २२ मत गणना गर्दा मीना कुमारी लामाले ५ हवार ४ सय ९७ मतसहित पहिलो स्थानमा छन् भने राप्रपा उम्मेदवार सिंह ५ हजार २ सय ७ मतसहित दोस्रो स्थानमा छन् । नेकपा एमालेका उम्मेदवार पौडेल ४ हजार ५ सय ७३ मतसहित तेस्रो स्थानमा छन् ।

२ वडामा कांग्रेस, २ मा एमाले विजयी

हेटौंडाः सोमबार रातीसम्ममा हेटौंडा उपमहानगरपालिकाका ४ वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । वडा नम्बर १, २, १८ र १९ को मत परिणाम सार्वजनिक हुँदा नेपाली कांग्रेसबाट वडा नम्बर १ मा सविन न्यौपाने र २ मा विष्णुगोपाल महर्जन विजयी भएका छन् । यस्तै नेकपा एमालेबाट १८ नम्बर वडामा अनिल बानियाँ र १९ नम्बर वडामा नरनाथ सुवेदी विजयी भएका छन् । वडा नम्बर १ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार सविन न्यौपाने १ हजार ४ सय ६७ मतसहित दोस्रो कार्यकालको लागि अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षका प्रत्यासी नेकपा एमालेका उत्तम प्रसाद पौडेल १ हजार ३ सय ३० मत, राप्रपाका सुजन शाही ४ सय १४ मत प्राप्त गरेका छन् । सदस्यहरुमा नेकपा एमालेका रामकृष्ण अधिकारी, सोनाम सिं ब्लोन, मनु दाहाल र ईश्वरी विश्वकर्मा विजयी भएका छन् । हेटौंडा १ मा ३ हजार २ सय ८६ मत खसेको थियो ।

यस्तै हेटौंडा–२ मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार विष्णु गोपाल महर्जन १ हजार २ सय ५८ मतसहित विजयी भए । महर्जनले अध्यक्षका प्रत्यासी नेकपा एमालेका हरि राउतले ८ सय ६४ मत प्राप्त गर्नुभयो । वडा सदस्यमा नेपाली कांग्रेसबाट सुरज बर्तौला र मैया परियार, नेकपा माओवादी केन्द्रका ईन्द्रप्रसाद रिजाल, नेकपा एकीकृत समाजवादीकी तारा ढुंगाना निर्वाचित भएका छन् । सबै उम्मेदवार चुनाव चिन्ह रुखबाट लडेका थिए ।
सोमबार दिउँसो सार्वजनिक मतपरिणाममा १ हजार ४ सय २३ मत प्राप्त गरी नरनाथ सुवेदी १९ नम्बर वडाध्यक्षमा विजयी भएका हुन् । २०७४ सालको निर्वाचनमा पनि सुवेदी वडा अध्यक्षमा निर्वाचित भएका थिए । वडा अध्यक्षका अर्का आकांक्षी नेपाली कांग्रेसका रामकुमार थापाले १ हजार २ सय २ मत प्राप्त गरे । सुवेदीसहित वडा सदस्यमा नेकपा एमालेको प्यानलै विजयी भएको हो । वडा सदस्यमा रमा गोले, रिता सुनार, राजकुमार बजु र प्रताप सिं थिङ विजयी भएका छन् । १९ नम्बर वडामा ५ हजार २ सय ५० मतदाता रहेकोमा ३ हजार ९ सय २५ मत खसेको थियो ।