निर्वाचित वडा अध्यक्ष र सदस्यहरु ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ को वडाध्यक्षमा नेकपा एमालेका नरनाथ सुवेदी विजयी भएका छन् । सोमबार दिउँसो सार्वजनिक मतपरिणाममा १ हजार ४ सय २३ मत प्राप्त गरी सुवेदी वडाध्यक्षमा विजयी भएका हुन् । २०७४ सालको निर्वाचनमा पनि सुवेदी वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

वडा अध्यक्षका अर्का आकांक्षी नेपाली कांग्रेसका रामकुमार थापाले १ हजार २ सय २ मत प्राप्त गरे । सुवेदीसहित वडा सदस्यमा नेकपा एमालेको प्यानलै विजयी भएको हो । वडा सदस्यमा रमा गोले, रिता सुनार, राजकुमार बजु र प्रताप सिं थिङ विजयी भएका छन् । १९ नम्बर वडामा ५ हजार २ सय ५० मतदाता रहेकोमा ३ हजार ९ सय २५ मत खसेको थियो ।

यसअघि हेटौंडा उपमहानगरपालिका १ मा नेपाली कांग्रेसका उम्मेदवार सविन न्यौपाने विजयी भएका थिए । उनी पनि दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । हेटौंडा उपमहानगरपालिकाका १७ वटा वडाको नतीजा सार्वजनिक हुन बाँकी छ । अहिले हेटौंडा–२ स्थित सिद्धार्थ माविमा एक साथ ६ वटा वडाको मतगणना भइरहेको छ ।