वडा अध्यक्ष निर्वाचित सुमन श्रेष्ठ ।

हेटौंडाः मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको २ नम्बर वडा अध्यक्षमा नेपाली कांग्रेसका सुमन श्रेष्ठ विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले अन्तिम मतपरिणाम सार्वजनिक गर्दै सुमनले १ हजार १ सय २० मतसहित जीत हासिल गरेका हुन् ।

शनिबार साँझ सम्पन्न मतगणनाअनुसार अध्यक्षका अर्का प्रत्यासी नेकपा एमालेका बैकुण्ठ थापा मगरले ७ सय ५८ मत प्राप्त गरेका छन् । श्रेष्ठसँगै नेपाली कांग्रेसकै उम्मेदवारहरु सदस्यमा पनि निर्वाचित भएका छन् । सदस्यमा ईन्दिरा थिङ, सरला परियार, प्रताप सिंह लामा र बुद्धिराम तामाङ विजयी भएका छन् ।

२ नम्बर वडाबाट गाउँपालिका अध्यक्षका उम्मेदवार नेपाली कांग्रेसका विश्वलाल लामाले १ हजार ७० मत पाउँदा नेकपा एमालेका देवकृष्ण पुडासैनीले ८ सय १६ मत पाएका छन् । यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसकी निर्मला रुम्बाले १ हजार १ सय ९ मत पाउँदा नेकपा एमालेकी उमा लामाले ७ सय ९३ मत पाएकी छिन् । यसअघि ईन्द्रसरोवर १ मा नेपाली कांग्रेसकै सुवास थापा मगर वडा अध्यक्षमा विजयी भएका थिए ।