रामकृष्ण घोरासाइनी
हेटौंडाः स्थानीय तह निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरु घरदैलोमा व्यस्त छन् । मतदाताको घरघरमा पुगेर मत माग्न विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारसँगै उनीहरुका सहयोगी एवम् कार्यकर्ता सक्रिय छन् ।
मकवानपुर जिल्लाकै सबैभन्दा बढी मतदाता रहेको बकैया गाउँपालिकामा पनि नेकपा एमाले र गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका उम्मेदवारबीच अध्यक्षमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । गाउँपालिकाको अध्यक्ष पदमा एमालेको तर्फबाट गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष सरला बोलखे र गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका धर्म लामिछाने चुनावी मैदानमा छन् । दुबै उम्मेदवार अहिले आ–आफ्ना चुनावी प्रतिबद्धतासहित मतदाता फकाउन घरदैलो अभियानमा जुटिरहेका छन् ।
अघिल्लो कार्यकालका अपूरा योजना पूरा गर्छुः बोलखे
स्थानीय तह निर्वाचनमा बकैया गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका तर्फबाट गाउँपालिकाको उपाध्यक्षबाट राजीनामा दिएर सरला बोलखे उम्मेदवार हुनुहुन्छ । उहाँले उपाध्यक्षको कार्याकालमा राम्रो काम गरेको र पार्टीप्रतिको लगनशीलताका कारण पार्टीले अध्यक्ष पदको टिकट दिएकोे बताउनुभयो । अघिल्लो कार्यकालमा विपक्षी दलका अध्यक्ष हुँदा विकास निर्माणका कार्ययोजना ल्याउन असहज भएको बोलखेको भनाइ छ । साना टुक्रे योजनामा विकास बजेटहरु धेरै खर्च भएको र पूर्वाधार विकासका ठूला योजनाहरु सञ्चालन हुन नसकेकोे उहाँले बताउनुभएको छ । साना टुक्रे योजना पनि विकासकै काम भए पनि सबैले देखिने खालको विकास नभएको उहाँले जानकारी दिनुभयो । अध्यक्ष पदका उम्मेदवार बोलखेका अनुसार अघिल्लो कार्यकालमा बाँकी भएका अपूरा कार्ययोजनाहरुलाई पूरा गर्दै जाने पनि बताउनुभएको छ । बकैयामा १५ सैय्याको अस्पतालको डीपीआर भएर बसेको र त्यसलाई आफू अध्यक्ष भएपश्चात् पूरा गर्ने उहाँले बताउनुभयो ।
पाँच वर्ष आफूले उपाध्यक्षमा रहेर सम्पूर्ण जिम्मेवारी पूरा गरेर कार्य गरेको र पार्टीका तर्फबाट अध्यक्षकै भूमिकामा रहेर कार्य गर्दैगर्दा विकास गर्न आवश्यक रहेको क्षेत्रको पहिचान गरेको बोलखेको भनाइ छ । पालिकाको पूर्वाधार विकासका लागि १२ वटै वडामा सडक सञ्जाल विस्तार गरी पालिकाभित्र बाहै्र महिना नै बस सञ्चालनमा ल्याउने व्यवस्था गर्ने बोलखेले बताउनुभयो । बकैयालाई बालमैत्री पालिका घोषणा गरिए पनि पूर्णरुपमा बालमैत्री हुन नसकेकाले त्यसलाई पनि प्राथमिकतामा राखेको उहाँको भनाइ छ । कृषि र पशु क्षेत्रमा विकासको कार्य सुरुवात भएको र आफूले त्यस कार्यलाई पूरा गर्ने पनि उहाँले बताउनुभएको छ । युवाका लागि रोजगारी सिर्जना गर्ने कार्यक्रमलाई पनि प्राथमिकतामा राखेको उहाँले जानकारी दिनुभयो ।
उत्पादनशील कार्यलाई प्राथमिकतामा राख्छुः लामिछाने
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बकैया गाउँपालिकामा गठबन्धनबाट अध्यक्ष पदका उम्मेदवार धर्म लामिछाने हुनुहुन्छ । उहाँले आफू अध्यक्ष भएपछि पालिकामा उत्पादनशील कार्ययोजना ल्याउने र कृषिलाई पहिलो प्राथमिकतामा राख्ने बताउनुभएको छ । पालिकामा ९० प्रतिशत कृषकहरु भएकाले कृषिललाई प्रविधिकरण गरी नयाँ प्रणालीअनुसार किसानलाई अगाडि बढाउन प्रोत्साहन गर्ने लामिछानेले बताउनुभएको छ । शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुली, बाटोलाई प्रभावकारी बनाउँदै जाने र समग्रमा यतिमात्रै विकास नभई उत्पादनशील क्षेत्र विकासको ठूलो माध्यम रहेको उहाँले बताउनुभएको छ ।
गाउँमा बाँझो जग्गा राखेर मानिसहरु वैदेशिक रोजगारीमा पलायन हुने भएकाले त्यस समस्यालाई रोक्न अन्य खाडी मुलुकमा हुनेजति कमाई कृषि क्षेत्रबाट पनि गर्न सकिने भएकाले कृषिलाई प्राथमिकतामा राख्ने उहाँले बताउनुभयो । युवाहरुलाई स्वरोजगार बनाउने र विकासको स्रोत नै उत्पादनशील क्षेत्र रहेको लामिछानेको भनाइ छ । आफू अध्यक्ष भएपश्चात् यसअघिका अपूरा कार्यहरुलाई पूर्ण गर्ने बताउनुभएको छ । बिजुली नपुगेको स्थानमा बिजुलीको विस्तार गर्ने उहाँको भनाइ रहेको छ । चुनावका लागि पालिकाभित्रमा पालिकाको अध्यक्ष र उपाध्यक्षसहित १० र १२ नम्बर वडामा गठबन्धन भएको उहाँले बताउनुभयो । अन्य वडामा मित्रवतरुपमा चुनावमा जाने लामिछानेले बताउनुभएको छ ।