हेटौंडाः मनहरी गाउँपालिका हेटौंडा उपमहानगरपालिकासँग जोडिएको छ । स्थानीय तह निर्वाचनमा मनहरीमा नेकपा एमालेको तर्फबाट बहालवाला अध्यक्ष एकराज उप्रेतीको उम्मेदवारी छ । यस्तै, गठबन्धनको तर्फबाट अध्यक्षमा नेपाली काँग्रेसका रञ्जन कालाखेतीको उम्मेदवारी छ । मनहरी गाउँपालिका कृषिमा आधारित गाउँपालिका भएकाले उम्मेदवारहरुको पहिलो प्राथमिकतामा कृषि परेको छ ।

तरकारीको पकेट क्षेत्र साविकको हाँडीखोला गाउँ विकास समिति पनि मनहरीमा नै पर्ने भएकाले पनि कृषि उत्पादन मनहरी गाउँपालिकामा धेरै हुन्छ । गाउँपालिकाको अध्यक्ष पदमा प्रतिस्पर्धी देखिएका गठबन्धनका उम्मेदवार कालाखेती र नेकपा एमालेका उम्मेदवार उप्रेतीको साझा एजेण्डाको रुपमा कृषि रहेको देखिन्छ । कृषि क्षेत्रको विकास गरेरमात्र गाउँपालिकाको विकास हुने भन्दै दुबै पक्षका उम्मेदवारहरुले कृषि क्षेत्रको विकासमा प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।

अधुरा योजनाहरु पूरा गर्नुछः उप्रेति

नेकपा एमालेको तर्फबाट गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार एकराज उप्रेति ।

हेटौंडाः स्थानीय तह निर्वाचनमा मनहरी गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेको तर्फबाट वहालवाला अध्यक्ष एकराज उप्रेती उम्मेदवार बन्नुभएको छ । उहाँले आफ्नो कार्यकालमा अधुरा रहेका विकास निर्माणका योजनाहरु पूरा गर्न पनि आफू विजयी हुनुपर्ने बताउनुभयो । मनहरी क्षेत्रको विकासका लागि तय गरिएको अधिकांश राम्रा योजनाहरु अधुरा रहेकाले त्यसको पूर्णताका लागि पनि आफूले उम्मेदवारी दिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “पहिलो कार्यकालमा स्थानीय सरकारको रुपमा स्थापित भयो । सरकार सञ्चालन गर्नुपर्ने धेरै विशेषज्ञ, फाँट, विभागहरु स्थापना गर्नुपर्ने भयो । समयमा सबै जुट्न नसक्दा धेरै कामहरु गर्न सकिएन ।” सम्पूर्ण संयन्त्रहरु निर्माण गरिएको भन्दै उहाँले अब चुस्तदुरुस्त रुपमा समयमा नै काम गर्न आतुर रहेको बताउनुभयो । पहिलो कार्यकालमा गरिएको कामको जानकारी गराउँदै उहाँले भन्नुभयो, “५३ करोडको पुल ठेक्का लगाएर काम ग¥यौं । जसमा एउटा सम्पन्न गरियो भने २ वटा चालु छन् । बालमैत्री गाउँपालिका घोषणा गर्न सफल भयौं । १६ सय परिवारको स्वास्थ्य बिमा, निःशुल्क रगत उपलब्ध, बिरामीको पहिचान गरेर उपचारमा सहयोग, दीर्घरोगीलाई औषधी, डेरीमा दूध बिक्री गर्ने किसानलाई प्रतिलिटर २ रुपैयाँ अनुदानलगायतका धेरै कामहरु भएका छन् ।’

यस्तै, उहाँले बोरिङ गरेर खानेपानी वितरण गर्ने योजना अगाडि सारिएको जानकारी दिनुभयो । अधुरा रहेको कामहरु सम्झिँदै उहाँले थप्नुभयो, “३६ करोड रुपैयाँको २ वटा पुलको डीपीआर तयार गरेका छौं । चकरीमा ६ करोड रुपैयाँको पुल डीपीआर गरिएको छ । लालपुर्जा दिन सकेका छैनौं, त्यो पूरा गर्छौं । ढुंगा, गिटी, बालुवाको स्रोत चलाउन पाएका छैनौं । मध्यवर्ती क्षेत्रको बारेमा भ्रम फैलिएको छ । कानुनबमोजिम छुट गराउनु पर्नेछ । यस्ता अधुरा कामहरु धेरै छन् ।” शिक्षा क्षेत्रको विकासका लागि गाउँपालिकाको उत्कृष्ट विद्यार्थीलाई इन्जिनियर, डाक्टर पढ्न सहयोग गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो । अपाङ्गता भएका तर, सरकारी कार्ड नपाउनेहरुका लागि मासिक ५ सय रुपैयाँ गाउँपालिकाले उपलब्ध गराउने योजना रहेको उप्रेतीले बताउनुभयो । मनहरीमा कृषिको पकेट क्षेत्र रहेकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने उहाँको योजना छ ।

कोरोनाका कारण अघिल्लो वर्ष विद्यालय पहिचान गर्ने काममात्र भएको भन्दै उहाँले आगामी दिनमा विद्यालय मर्ज गर्ने जानकारी दिनुभयो । यस्तै, ९ वटै वडामा आधारभूत स्वास्थ्य र ईसिईडी कक्षा सञ्चालनलाई प्राथमिकतामा राखिएको उहाँले बताउनुभयो । नेकपा एमाले मनहरीले चुनावी प्रचारप्रसारलाई व्यापक बनाएको उहाँले बताउनुभयो ।

स्थानीयले काम गर्ने नयाँ अनुहार चाहेका छन्ः कालाखेती

गठबन्धनको तर्फबाट गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार नेपाली कांग्रेसका रञ्जन कालाखेति ।

हेटौंडाः मनहरी गाउँपालिकाको गठबन्धनबाट अध्यक्ष पदका उम्मेदवार रञ्जन कालाखेतीले मनहरी गाउँपालिकामा स्थानीयले काम गर्ने नयाँ अनुहार चाहेको बताउनुभएको छ । उहाँले निर्वाचनपछि पूरा गर्न सकिने योजनामात्र प्रतिबद्धतापत्रमा समेटेको दावी गर्नुभएको छ । उहाँले भन्नुभयो, “चुनावी माहोलमा नेताहरु जनताको माझमा जाँदा मिठा सपना बोकेर जान्छन् । तर, चुनावपछि बाचा पूरा गर्न सक्दैनन् । त्यसैले जति सकिन्छ त्यतिमात्र सपना देखाउनुपर्छ ।” गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी रहँदा चुनावपछि गर्न सकिनेमात्र प्रतिबद्धता गरेको उहाँले स्पष्ट पार्नुभयो । अघिल्लो निर्वाचनबाट आएका जनप्रतिनिधिले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको उहाँले दाबी गर्नुभयो । स्थानीय सरकार आएपनि जनताको समस्या जस्ताको त्यस्तै रहेकाले स्थानीय सरकार आएको जनताले अनुभूति गर्न नपाएको स्पष्ट पार्नुभयो ।

मनहरी गाउँपालिका कृषिमा आधारित गाउँपालिका रहेको भन्दै उहाँले कृषिलाई प्राथमिकतामा राखेर प्रतिबद्धतापत्र बनाउनु भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मनहरीका कृषकले रासायनिक मल, उन्नत बीउ र सिंचाई नहुँदा अव्यवस्थित तरकारी खेती गरिरहेका छन् । जसको फलस्वरुप कृषकले बजारभाउ पाएका छैनन् ।”’ उहाँले किसानलाई सरल र सुलभ तरिकाबाट रासायनिक मल उपलब्ध गराउने, शिक्षामा गाउँपालिकाबाट कार्यविधि बनाएर कक्षा १२ सम्म निःशुल्क पठनपाठन गराउने व्यवस्था गर्ने, गरिब तथा विपन्न समुदायको पहिचान गरी उनीहरुको निशुःक स्वास्थ्य बिमा र उपचार गराउने, सडक निर्माण, स्वरोजगार र उद्योग मजदुरको हितमा काम गर्ने प्रतिबद्धता गर्नुभएको छ । मनहरीमा स्थानीय सरकारले काम नगरेको आरोप लगाउँदै उहाँले नेकपा एमालेका अध्यक्ष दाबेदार उप्रेतीले सरकारबाट गरिब परिवारका बालबालिकालाई पोषणयुक्त खानेकुरा वितरण गर्न नसक्नु लज्जास्पद भएको बताउनुभयो । यस्तै, उप्रेतीको कार्यकालमा राजश्व चुहावट भएको, अव्यवस्थितरुपमा नदी उत्खनन् गरिएको जानकारी दिनुभयो ।

उहाँले थप्नुभयो, “सबै वडाहरुमा समानरुपमा विकासको काम हुन सकेको छैन । विकट क्षेत्रमा अलि प्राथमिकतामा राखेर बजेट विनियोजन गर्नुपर्ने हो । सुगम र दुर्गमलाई समानरुपमा हेरिनु मूर्खता हो ।” मनहरीका जनताले परिवर्तन खोजिरहेको उहाँको भनाई छ । स्थानीयहरु अहिलेको सरकारलाई विस्थापित गरी नयाँ सरकार स्थापित गर्न हतार गरिरहेको उहाँले स्पष्ट पार्नुभयो । गठबन्धनले मत बदर नहोस् भनेर स्थानीयलाई मतदाता शिक्षा दिन स्वयम्सेवक खटाएको उहाँले जानकारी दिनुभयो ।

गठबन्धन तोडेर एमालेको सरकार ल्याउन सर्वसाधारणमा भ्रम छर्ने काम भइरहेको भन्दै उहाँले दैनिक घरदैलो सकिएपछि बैठक बसेर आएका समस्याहरु समाधानमा भूमिका खेलिरहेको जानकारी दिनुभयो । गठबन्धनले जितेपछि विकासमा फड्को मार्ने र जीवनस्तर उकास्ने अपेक्षा जनताले गरेको उहाँले बताउनुभयो ।