सम्मानित हुँदै मकवानपुरका गजलकार विश्वनाथ सञ्जेल ।

हेटौंडाः मकवानपुरका गजलकार विश्वनाथ सञ्जेललाई स्रष्टा सम्मान (२०७८) बाट सम्मानित गरिएको छ । १९०औं विशेष यात्रामा सम्मान पत्रसहित सञ्जेल सम्मानित गरिएको हो ।

कार्यक्रममा सञ्जेलको परिचयबारे झरना साहित्यिक परिवार मकवानपुरका अध्यक्ष चिरञ्जीवी लामिछानेले चर्चा तथा परिचर्चा गर्नुभएको छ । गजल मञ्च मकवानपुरका अध्यक्ष देवराज तिवारीको सभाध्यक्ष तथा हास्यव्यङ्ग्यकार आरसी रिजालको प्रमूख आतिथ्यमा कार्यक्रम भएको हो । यसैगरी ५ जना कृतिकारलाई कृति प्रकाशन सम्मानबाट सम्मानित गरिएको छ । २०७४ सालदेखि हालसम्म गजल संग्रह कृति प्रकाशनमा ल्याउनुभएका कहरका कृतिकार किसन पौडेल, संयुक्त गजल संग्रह गोधुली चिन्तनका कृतिकार एसआर मञ्जरी ओली र भोला शिवाकोटी, अक्षर आराधनका कृतिकार मासन उपासक र फर्कियौ किनारबाटका कृतिकार विश्वनाथ सञ्जेललाई सम्मान गरिएको हो ।

सम्मानित हुनुभएका कृतिकारहरुले २/२ वटा गजल वाचन समेत गर्नुभएको छ । सोही अवसरमा गजल यात्रा-३ गजल मञ्च मकवानपुले प्रकाशनमा ल्याइएका छन् । झरना साहित्यिक परिवार मकवानपुरका अध्यक्ष दीपक गौतमले विगत वर्षमा गजल यात्रा नियमित हुन नसक्दा संस्था बन्द हुने अवस्था सिर्जना भएको बताउनुभयो । गजलकार सिएम रिमालले स्वागत मन्तव्य व्यक्त गर्नुभयो । कार्यक्रममा गजलकार रमेशमोहन अधिकारी, मातृभूमि साहित्य समाजका अध्यक्ष माधव पोखरेल, साहित्य संगम मकवानपुरका अध्यक्ष अनिता न्यौपाने, गजलमञ्च मकवानपुरका संरक्षक मुक्तिगोविन्द वैद्य लगायतको उपस्थिति रहेको थियो ।