गोष्ठीमा सहभागीहरु ।

हेटौंडाः हेटौंडामा दुई दिने सुशासन तथा वित्तीय अनुशासन सम्बन्धी गोष्ठी आज शुक्रबारबाट सुरु भएको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना हेटौंडा मकवानपुरको आयोजना प्रमुख मोहन लाल जैसीको अध्यक्षता तथा बागमती प्रदेश सरकारका खानेपानी मन्त्रालयका मन्त्री उमाकान्त चौधरीको प्रमुख आतिथ्यतामा गोष्ठी सुरु भएको हो ।

गोष्ठीमा खानेपानी मन्त्रालयका सहसचिव ज्ञान प्रसाद ढकालले सुशासन र सदाचार प्रर्वद्धन सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभयो । उहाँले सुशासन प्रत्याभुति गर्न गुनासो व्यवस्थापन प्रणाली सार्वजनिक गर्नुपर्ने र कार्यप्रगती वेवसाईटमा राख्नुपर्ने बताउनुभयो । यस्तै अख्तियार दुरपयोगका उजुरीहरुको समयमै सम्बोधन, सम्पर्क व्यक्ति तोक्ने र सामाजिक क्षेत्रको सुधार गर्नुपर्ने उल्लेख गर्नुभयो । यस्तै उहाँले उजुरी तथा गुनासो व्यवस्थापनका कार्यपत्र प्रस्तुत गर्नुभयो । उहाँले आर्थिक वर्षमा २०७६/७७ मा अख्तियार दुरपयोग अनुसन्धान आयोगबाट २० वटा उजुरी, राष्ट्रिय सर्तकता केन्द्रबाट ६ वटा र हेल्लो सरकारबाट २ सय ७९ उजुरी प्राप्त भएको बताउनुभयो । यस्तै आर्थिक वर्ष २०७७/७८ मा अख्तियारबाट २० वटा, राष्ट्रिय सर्तकता केन्द्रबाट ३ वटा र हेल्लो सरकारबाट १३ वटा उजुरी प्राप्त भएको थियो । यस्तै आर्थिक वर्ष २०७८/७९ मा अख्तियारबाट १० वटा र हेल्लो सरकारबाट ७ वटा उजुरी प्राप्त भएको ढकालले बताउनुभयो ।

उजुरीहरु आर्थिक हिनामिना, सम्पत्ति छानविन, अवैध रुपमा रकम निष्काशन, कार्यालय समयभन्दा ढिला उपस्थित भएको, खानेपानीको अभाव, जथाभावि ढलको पाइप फुटेर फोहोर भएको र खानेपानी योजना समयमै पुरा हुन नसकेको जस्ता रहेको ढकालले बताउनुभयो । गोष्ठी भोलि शनिबारसम्म सञ्चालन हुनेछ । गोष्ठीमा खानेपानी व्यवस्थापन आयोजनाका पदाधिकारीहरुको उपस्थित रहेको छ ।