हेटौंडा–१६, हटियास्थित जनप्रिय माविमा कक्षा ८ को बार्षिक परीक्षा दिँदै विद्यार्थी ।

हटियाः निजी विद्यालयमा अध्ययनरत विद्यार्थी र कार्यरत शिक्षक दुवैको आकर्षणको केन्द्र बनेको छ हेटौंडा–१६, हटियास्थित जनप्रिय मावि । चालु शैक्षिक सत्र २०७८ को सुरुवातमा २ सय ५० जना विद्यार्थी नयाँ भर्ना भएका थिए भने ६ जना शिक्षकले नयाँ नियुक्ति लिएका थिए ।

अंग्रेजी माध्यममै पठनपाठन हुने, निजी स्रोतमा नियुक्त भएका निजी विद्यालयकै पूर्व शिक्षकहरुले पढाउने, निजी विद्यालयको तुलना न्यून शूल्क तिरे पुग्ने, उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्तिमा सहभागी हुँदा प्राथमिकतामा पर्ने जस्ता कारणले सरकारी विद्यालयको रुपमा रहेको जनप्रिय माविमा विद्यार्थीको आकर्षण देखिन्छ भने निजीको तुलना कामको चाप कम हुने र पारिश्रमिक पनि राम्रो हुने भएपछि जनप्रियमा निजी विद्यालयका शिक्षकको आकर्षण बढेको हो ।

विद्यार्थीको चापकै कारण शैक्षिक सत्र २०७८ मा जनप्रिय माविले ६ कक्षादेखि ९ कक्षासम्म एउटा सेक्सन नै थप गर्नुपरेको थियो । २०७९ बैशाख ८ गतेदेखि सुरु भएको आधारभूत तहस्तरीय (कक्षा–८) परीक्षामा जनप्रिया माविका १ सय २९ जना विद्यार्थी सहभागी छन् । अंग्रेजी माध्यममा पठनपाठन गर्ने विद्यार्थी ७५ जना तथा नेपाली माध्यममा पठनपाठन गर्ने ५४ जना विद्यार्थी बार्षिक परीक्षामा सहभागी छन् । जनप्रिय माविमा सवैभन्दा बढी विद्यार्थी कक्षा ८ मै छ ।

शैक्षिकसत्र २०७८ मा जनप्रिय माविले प्रावि तहमा २ जना, निमावि तहमा ३ जना र मावि तहमा १ जना शिक्षकलाई निजी स्रोतमा नियुक्त गरेको थियो । प्रावि तहमा २ जना शिक्षकका लागि दरखास्त आव्हान गर्दा १४ जनाले आवेदन दिएका थिए भने निमावि तहमा ३ जना शिक्षकका लागि आवेदन आव्हान गर्दा १६ जनाले आवेदन दिएका थिए । अंग्रेजी माध्यमका लागि निजी स्रोतमा शिक्षक नियुक्तिको सूचना प्रकाशित गर्दा आवेदन दिने अधिकांश शिक्षक आसपासकै निजी विद्यालयका शिक्षक हुने गर्दछ ।

निजी विद्यालयमा १५ हजार रुपैयाँ मासिक तलब पाउँदै आएका शिक्षकले जनप्रियमा निजी स्रोतमा २५ हजार रुपैयाँसम्म तलब बुझ्छन् भने निजी विद्यालयमा मासिक ४ हजार रुपैयाँसम्म खर्चने विद्यार्थीले जनप्रियमा मासिक १ हजार रुपैयाँ भन्दा बढी भुक्तानी गर्नुपर्दैन । निजी विद्यालय छाडेर जनप्रियमा भर्ना हुने विद्यार्थी र तिनका अभिभावकका लागि शैक्षिकसत्रको सुरुवातमा भर्ना, पुस्तकालय, खेलकुद, अतिरिक्त क्रियाकलाप, कम्प्युटर लगायतका शीर्षकमा एकमुष्ठ १० हजार भन्दा बढी शूल्क तिर्नुपर्ने बाध्यता पनि हटेको छ ।

जनप्रिय माविमा साधारणतर्फ १ हजार १ सय विद्यार्थी अध्ययनरत छन् । ५ कक्षासम्म पूर्णतः अंग्रेजी माध्यममा पठनपाठन हुने जनप्रिय माविमा ६ देखि १० सम्ममा अंग्रेजी माध्यममा ३ सय ५४ विद्यार्थी अध्ययनरत छन् । शैक्षिकसत्र २०७८ मा मात्रै ६ कक्षादेखि १० कक्षासम्म एक सय ५० भन्दा बढी विद्यार्थी अंग्रेजी माध्यममा भर्ना भएका थिए । ती सवै विद्यार्थी आसपासका निजी विद्यालय छाडेर जनप्रिय आएका हुन् । ५ कक्षासम्म मासिक शूल्क नै लाग्दैन भने ६ कक्षादेखि १० कक्षासम्म मासिक ६ कक्षाका विद्यार्थीले ६ सय रुपैयाँ, ७ कक्ष्ाँका विद्यार्थीले ७ सय रुपैयाँ, ८ कक्षाका विद्यार्थीले ८ सय रुपैयाँ, ९ कक्षाका विद्यार्थीले ९ सय रुपैयाँ र १० कक्षाका विद्यार्थीले १ हजार रुपैयाँ मासिक शूल्क भुक्तानी गर्ने गरेको विद्यालयका प्रधानाध्यापक नमराज अर्यालले जानकारी दिनुभयो ।

प्रधानाध्यापक अर्यालका अनुसार विद्यार्थीले मासिकरुपमा भुक्तानी गर्ने सहयोग शूल्कले निजी स्रोतका शिक्षकलाई तलब भुक्तानी गर्न पर्याप्त हुन्न । आसपासका निजी विद्यालयलाई तिर्नुपर्ने २ महिनाको शूल्कले जनप्रियमा एक बर्षकै खर्च धान्ने अभिभावकको प्रतिक्रिया छ । विद्यार्थीबाट संकलन हुने सहयोग शूल्क र खर्चको अनुपात हेर्दा बर्षमा झण्डै ५ लाख रुपैयाँ अपुग हुने प्रधानाध्यापक आचार्यको भनाइ छ । जनप्रिय माविमा मावि तहमा ६ जना, निमावि तहमा ४ जना, प्राथमिक तहमा ११ जना र प्रारम्भिक बालविकास कक्षामा १ जना गरी कुल २१ जना स्थायी शिक्षक छन् भने निजी स्रोतबाट मावि तहमा ३ जना, निमावि तहमा ५ जना, प्राथमिक तहमा ४ जना र १ जना प्रारम्भिक बालविकास कक्षाका शिक्षक गरी १३ जना शिक्षक छन् । निजी स्रोतमा शिक्षक राखेर भए पनि जनप्रिय माविमा अंग्रेजी माध्यमको पठनपाठन सञ्चालन गरी मध्यम र निम्न आर्थिक अवस्था भएका परिवारका विद्यार्थीलाई पनि अंग्रेजी माध्यममा विद्यालय तहको शिक्षा प्रभावकारी रुपमा प्रदान गर्न सफल भएको जनप्रिय माविको अंग्रेजी माध्यम कार्यक्रमका संयोजक रविन श्रेष्ठको भनाइ छ ।

मंगलबार आधारभूत तहको परीक्षामा सहभागी हुँदै जनप्रिय माविका विद्यार्थी ।