अनुशिक्षणमा सहभागी अभिभावकहरु ।

हर्नामाडीः सधैं आफ्ना बालबालिकालाई पढ्न पठाउने अभिभावकहरु सोमबार र मंगलबार हेटौंडा–१८, हर्नामाडीस्थित मकवानपुर बालविद्या सदन माविको सभाकक्ष पढ्न बसेका छन् । आज बुधबार पनि अभिभावकको एक समूहले विद्यालयमा पढ्न जाने तालिका छ । शैक्षिक सत्र सकिएर नयाँ शैक्षिकसत्रको सुरुवात गर्नुअघि विद्यालयले अभिभावकका लागि अभिमुखीकरणको आयोजना गरेको हो ।

मंगलबारको अनुशिक्षणमा सहभागी सुवर्ण गौतमकी आमा कञ्चन गौतमले गुणस्तरीय शिक्षामा अभिभावकको भूमिकाका बारेमा आधारभूत ज्ञान समेत नहुँदा घरको वातावरण पूरै बिग्रिएको बल्ल थाहा भएको उल्लेख गर्नुभयो । अनुशिक्षणमा सहभागी भएपछि घरमा अभिभावकको रुपमा हामीले धेरै मुख्र्याइँ गरिरहेको भन्ने लागेको एसईई दिँदै गरेका सुवर्णकी आमा कञ्चन गौतमको स्वीकारोक्ती थियो । अनुशिक्षणमा सहभागी ५ कक्षामा अध्ययनरत उत्कर्ष श्रेष्ठकी आमा उत्तरा जोशी श्रेष्ठले अनुशिक्षणमा आमा र बुबा दुवै सहभागी हुनु पर्ने आवश्यकता औँल्याउनुभयो ।

३ कक्षामा अध्ययनरत प्रज्ञान पोखरेलकी आमा भागरथी बस्नेत पोखरेलले घरको वातावरणलाई शिक्षामैत्री बनाउन क्रमशः काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । ३ कक्षाकै विद्यार्थी गृष्मा लामिछानेकी आमा टिना योङहाङले बालबालिकालाई सकारात्मक कुरा गरेर प्रेरित गर्नुपर्ने कुरा सिक्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।

बालबालिकाका लागि घरमा शैक्षिक वातावरण निर्माण तथा विद्यार्थीमैत्री अभिभावकको व्यवहार सम्बन्धमा अनुशिक्षणको आयोजना गरिएको हो । सोमबारदेखि सुरु भएको अनुशिक्षण कार्यक्रम आज बुधबारसम्म चल्ने विद्यालयका अध्यक्ष सुदीप राज गिरीले जानकारी दिनुभएको छ । गुणस्तरीय शिक्षाका लागि विद्यालयको भन्दा घरको वातावरण अनुकुल हुनुपर्ने आवश्यकतालाई महसुस गरी अभिभावक अनुशिक्षणको कार्यक्रम गरिएको गिरीको भनाइ छ । अभिभावको एउटा समूहलाई एक दिन अनुशिक्षण गर्ने गरी कुल तीन समूहमा करिब एक सय अभिभावकलाई अनुशिक्षणको कार्य गरिन लागेको गिरीले बताउनुभयो ।

अनुशिक्षणमा सुशील राज गिरीले सहजीकरण गरिरहनुभएको छ । अनुशिक्षणमा आमाको सहभागिता उल्लेख्य थियो । विद्यालयका अध्यक्ष सुदीप राज गिरीले शैक्षिक सत्र २०७९ मा विद्यार्थीका लागि सञ्चालन गरिने आकर्षक कार्यक्रमका बारेमा अभिभावकलाई जानकारी गराउनुभएको थियो । अध्यक्ष गिरीले विद्यार्थीका लागि अभिव्यक्ति कला, नृत्य, संगीत कला, खेलकुदका कार्यक्रमबारे जानकारी गराउनुभयो । अभिभावक र शिक्षकबीचको सहकार्य लक्षित गरी अभिभावकलाई अभिमुखीकरण गराउँदा अभिभावकको चासो र सकारात्मक परिवर्तन गर्ने प्रतिवद्धता उल्लेखनीय भएको सहजकर्ता सुशील राज गिरीको अनुभव छ ।