हेटौंडाः हेटौंडा–२ स्थित नकौली स्वास्थ्य केन्द्रमा चालु आर्थिक वर्ष २०७८/७९ को हालसम्म १ सय ८६ जनाको गर्भपरिक्षण गरिएको छ । गर्भ परिक्षण गराउने महिलाहरुमा ५ जना २० वर्षभन्दा कम उमेरका रहेका छन् । हेटौंडा अस्पतालमा रहेको गर्भ परिक्षण शाखा विगत ६ महिनादेखि नकौली स्वास्थ्य केन्द्रमा सारिएको छ ।
चालु अर्थिक वर्षको हालसम्म ५ जना किशोरी आमाहरुले गर्भ जाँच गराएको नकौलि स्वास्थ्य केन्द्रका अहेव प्रतिमा घलानले बताउनुभयो । २० वर्षभन्दा कम उमेरको गर्भजाँच गराउन आउनेमा प्राय हेटौंडा १ लालझाडी क्षेत्रको रहेको उहाँले बताउनुभयो । हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखा र नकौलि स्वास्थ्य केन्द्रले गाउँ गाउँमा गएर विविध प्रकारका अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्दै आएको छ । जसमा महिलाको प्रसुतिमा ध्यान दिनु पर्ने विषयहरु समेटिएका छन् । स्वास्थ्य केन्द्रमा २० वर्षभन्दा कम उमेरका महिला गर्भ जाँच गराउन आउनेहरुलाई परामर्श र प्रसुतिमा आउने समस्या तथा समाधानको सहजीकरण गर्ने गरेको अहेव प्रतिमा घलानले बताउनुभयो । यस्तै, घलानका अनुसार महिलाले गर्भ बसेपछि ३ महिना, ५ महिना, ८ महिना र ९ महिना गरी ४ पटक गर्भ परिक्षण गराउनु पर्छ । पछिल्लो समय प्रत्येक महिना गर्भ परिक्षण गराउन आउनेको संख्या बढेको उहाँले बताउनुभयो ।