हेटौंडा-४ स्थित भुटनदेवी माविमा परीक्षा दिन उपस्थित भएका तस्बिर फाइल विद्यार्थीहरु ।

हेटौंडाः शैक्षिक सत्र २०७८ को विद्यालय शिक्षा परीक्षा (एसईई) शुक्रबारबाट सुरु भएको छ । कोभिड–१९ महामारीका कारण पछिल्ला दुई वर्ष विद्यालयको आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशन गरिएको एसईई शुक्रबारबाट देशभर सुरु भएको हो ।

एसईई परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा भएको छ । परीक्षाको पहिलो दिन मकवानपुरबाट परीक्षा आवेदन फारम भरेका २ सय ९ जना परीक्षार्थी अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका सूूचना अधिकारी कृष्ण पौडेलले जानकारी दिनुभयो ।

जिल्लाका १ सय ३६ विद्यालयका ७ हजार एक सय ३८ जना विद्यार्थीले एसईईको परीक्षा आवेदन फारम भरेका थिए । आवेदन फारम भरेका मध्ये ३ हजार २ सय ४५ जना छात्र र ३ हजार ५ सय २० जना छात्रा गरी परीक्षाको पहिलो दिन ६ हजार ९ सय ४२ जनामात्र परीक्षार्थी परीक्षामा सहभागी भएको पौडेलले जानकारी दिनुभयो । गे्रड वृद्धिका लागि १४ जना परीक्षार्थीले मात्र परीक्षाको फारम भरेका थिए । जसमा अनिवार्य अंग्रेजीमा ४ जना परीक्षार्थी सहभागी भएको उहाँले बताउनुभयो । ग्रेड वृद्धिका लागि परीक्षा फारम भरेकालाई अनुपस्थित मान्न नसकिने उहाँको भनाइ छ । बाँकी विद्यार्थी अन्य विषयको परीक्षामा सामेल हुनसक्ने भएकाले अनुपस्थित भन्न नमिल्ने उहाँले बताउनुभयो ।

हेटौंडा उपमहानगरमा तोकिएको १३ वटा परीक्षा केन्द्रबाट मात्र ४ हजार एक सय ८७ जना परीक्षार्थीले अनिवार्य अंग्रेजी विषयको परीक्षा दिएका छन् । परीक्षाको पहिलो दिन शिक्षा विकास तथा समन्वय इकाई मकवानपुर एवम् शिक्षा विकास निर्देशनालय बागमतीको नेतृत्वमा अनुगमनसमेत गरिएको छ । अुनगमनका क्रममा सभ्य र मर्यादित वातावरणमा परीक्षा सञ्चालन भएको पाइएको सूचना अधिकारी पौडेलले दावी गर्नुभयो ।

जिल्लाको बागमती गाउँपालिकाको फापरबारीस्थित जनता मावि, बकैया गाउँपालिकाको हात्तीसुँडेस्थित बुद्ध मावि र छतिवनको महेन्द्र मावि परीक्षा केन्द्रको अनुगमन गरिएको हो । अनुगमनका क्रममा परीक्षार्थीहरुले परीक्षा सोचेजति राम्रो गर्न नसकेको पाइएकाले परीक्षाको नतिजा खस्किने सम्भावना बढी रहेको पौडेलले बताउनुभयो । दुई वर्षदेखि कोरोना महामारीका कारण शिक्षामा परेको नकारात्मक प्रभावसँगै कम समयमात्र पठनपाठन भएकाले एसईईको तयारी प्रभावकारी हुन नसक्दा परीक्षाको नतिजा खस्किनसक्ने उहा“को भनाइ छ ।

अनुगमन गरिएका परीक्षा केन्द्रहरु जनता माविमा १ सय ७७ जना परीक्षार्थी अनिवार्य अंग्रेजी विषयको परीक्षामा उपस्थित हुँदा १३ जना अनुपस्थित भएको सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो । यसैगरी बुद्ध माविमा ३ सय ६९ जना परीक्षार्थी परीक्षामा सहभागी भएका छन् भने ११ जना अनुपस्थित भएका छन् । महेन्द्र माविमा २ सय २३ जना परीक्षार्थीले परीक्षा दिएका छन् भने ९ जना अनुपस्थित रहेको उहाँले बताउनुभयो । परीक्षामा सहभागी भएका विद्यार्थीमा प्रश्नपत्रसम्बन्धी कुनै पनि गुनासो नभएको र लेखाइ तथा पढाइ कमजोर हुँदा परीक्षा सोचेको जस्तो राम्रो हुन नसकेको गुनासो विद्यार्थीको रहेको पौडेलले बताउनुभयो ।

हेटौंडा— ५ मा रहेको जीएस निकेतन परीक्षा केन्द्रबाट एसईई परीक्षामा सहभागी परीक्षार्थी रुपा मगरले परीक्षा सामान्य भएको बताउनुभयो । अनिवार्य अंग्रेजीमा उत्कृष्ट अंक प्राप्त गर्न नसकिए परीक्षाको नतिजा राम्रो नहुने उहाँको भनाइ छ । केही साथीहरुले परीक्षा राम्रो नभएको भन्दै गुनासो गरेको मगरले बताउनुभयो । विगतका वर्षमा विद्यालयले आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गरेको भन्दा परीक्षाको नतिजा खस्किने उहाँको दावी छ ।

एसईई परीक्षा बिहान ८ बजेदेखि सुरु भएको थियो । मकवानपुर जिल्लामा २४ वटा परीक्षा केन्द्र तोकिएका छन् । परीक्षा सञ्चालनका लागि परीक्षा केन्द्र तोकिएका विद्यालयका प्रधानाध्यापकलाई नै केन्द्राध्यक्षको जिम्मेवारी प्रदान गरिएको छ । भोलि ११ गते आइतबार अनिवार्य गणित विषयको परीक्षा हुनेछ भने १२ गते नेपाली, १३ गते विज्ञान, १४ गते सामाजिक, १५ गते स्वास्थ्य जनसंख्या तथा वातावरण, १६ गते ऐच्छिक प्रथमअन्तर्गत्का विषयहरु र १७ गते ऐच्छिक द्वितीयका विषयहरुको परीक्षा हुनेछ ।