Home मुख्य समाचार बालविवाह नियन्त्रणमा चुनौति

बालविवाह नियन्त्रणमा चुनौति

हेटौंडाः नेपालको कानूनले २० बर्षभन्दा कम उमेरमा गरिएको विवाहलाई बालविवाह भनेर परिभाषित गरेको छ । शारीरिक र मानसिक रुपमा परिपक्व नभई गरिने विवाह बालविवाहमा पर्छन् । विश्वमा बालविवाह धेरै हुने मुलुक मध्ये नेपाल शिर्ष दशौं स्थानमा रहेको देखिन्छ । मकवानपुर पनि बालविवाहको घटनाबाट टाढा रहन सकेको छैन । मकवानपुरमा वर्षेनी बालविवाहको घटना बढ्दो रहेको तथ्याङ्कले देखाउँछ ।

विगत ४ बर्षमा १ सय ७ बालविवाहको घटना सिविन बाल हेल्पलाईनमा दर्ता भएको छ । गत आर्थिक वर्ष २०७७/७८ मा ४३ वटा बाल विवाह घटना दर्ता भएको थियो । सिविन बाल हेल्पलाईन मकवानपुरका संयोजक झविन्द्र ज्ञवालिका अनुसार उजुरी नपरेका वा कार्यालयमा दर्ता नभएका घटनाहरु पनि धेरै छन् । बालविवाह भएको १ सय ७ जनामा बालक ४८ जना रहेका छन् । बालविवाहमा अधिकांश बालिकाहरु रहने गरेका छन् ।

यस्तै, सिविन बाल हेल्पलाईन मकवानपुरका संयोजक झविन्द्र ज्ञवालिका अनुसार अभिभावक सचेत नहुनु, आर्थिक विपन्नता हुनु, अभिभावकको माया नपाउनु, खराब संगतमा पर्नु, यौन सम्बन्धी जिज्ञासु, सामाजिक संजालको ज्ञान नहुनु, पारिवारीक झगडा तथा द्वन्द्व, विद्यालय जानबाट बञ्चित हुनु र बालविवाह सम्बन्धी कानूनी ज्ञान नहुनु लगायतका कारणले गर्दा बालविवाहको घटना बढिरहेको छ । उहाँले बालविवाहले विभिन्न प्रकारका समस्या निम्त्याउने जानकारी दिनुभयो । बालविवाहबाट बालिकाको प्रजनन् स्वास्थ्यमा पर्न सक्ने असर, बाल अधिकार कानूनी बन्देजहरुको बारेमा जानकारी नभएका कारण पनि बालविवाहले निरन्तरता पाईरहेको उहाँको भनाई छ । अहिले पनि हाम्रो समाजमा बाल विवाहलाई स्वीकार गर्नु नै गलत भएको संयोजक ज्ञवालीको धारणा छ । बालविवाहको बारेमा अभिभावकले उजुरी नगरेकै कारण बालविवाहका घटना बढ्दो रहेको उहाँले बताउनुभयो ।

शारीरिक र मानसिक रुपमा परिपक्व नभई गरिने विवाहले बालिकाको स्वास्थ्यमा र मानसिक रुपमा असर पर्ने उहाँले बताउनुभयो । यस्तै, सानो उमेरका बालिकाहरु आमा बन्दा उनीहरुलाई पाठेघर सम्बन्धी समस्या देखिने महिला रोग विशेषज्ञहरुको भनाई छ । शारीरिक विकास नभई यौन सम्पर्क गर्नु र सानो उमेरमा आमा बन्ने कारण पछिल्लो समयमा महिलाको पाठेघर खस्ने समस्याहरु धेरै देखिएको महिला रोग विशेषज्ञ डाक्टर राघबेन्द्र ठाकुरले बताउनुभयो । अपरिपक्व आमाले जन्माएको बालबालिकामा समेत अपाङ्गता देखिन सक्ने उहाँको भनाई छ । बालविवाहले निम्त्याउने अर्को समस्या भनेको मातृ र बाल मृत्यूदर वृद्धि हुनु हो ।

अझै पनि कतिपय ठाउँमा मनलाग्दी र परम्परा, धर्म, संस्कृति आदिका नाममा बालविबाह गर्ने प्रचलन रहेको छ । बालविवाहले घरेलु हिंसा बढी हुने गरेको र हिंसा सहन नसकी महिलाले आत्मा हत्या गरेको पनि धेरै घटना हुने गरेको छ । सानै उमेरमा गरेको विवाहले पछि बहुविवाह हुने, सम्बन्ध विच्छेद हुने र पारिवारीक कलहको रुप धारण गर्ने लगायतको समस्या निम्त्याउँछ ।

Exit mobile version