हेटौंडाः नेकपा एमाले हेटौंडा उपमहानगरपालिका कमिटीले आसन्न स्थानीय तहको निर्वाचनको लागि प्रतिबद्धतापत्र घोषणा गरेको छ । शुक्रबार पार्टीको ७४औँ स्थापना दिवसको अवसरमा हेटौंडामा आयोजित कार्यक्रममा प्रतिबद्धता पत्र घोषणा गरिएको हो ।
कार्यक्रममा नेकपा एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले प्रतिबद्धता पत्र प्रस्तुत गर्नुभयो । प्रतिबद्धता पत्रमा खानेपानी बोर्डबाट पानी उपलब्ध भईरहेका उपभोक्ताहरुलाई १० हजार लिटर पानी निशुल्क उपलब्ध गराइने प्रतिबद्धता पत्रमा उल्लेख छ । यस्तै, हेटौंडा उपमहानगरपालिकालाई समय–समयमा रणनितिक परामर्शका लागि सबै पक्ष समेटेर हेटौंडा विकास परिषद गठन गर्ने, योजना निर्माण, अनुगमन र मुल्याङ्कनका लागि नगर योजना आयोग गठन गर्ने, प्रदेश राजधानीको गुरुयोजना तर्जुमा र कार्यान्वयन गर्न प्रदेश सरकारसँग सहकार्य र समन्वय गर्ने पत्रमा उल्लेख छ । यस्तै, नगर यातायात गुरुयोजना तयार गरिने र व्यवस्थापन गर्ने उल्लेख गरेको छ । कार्यक्रममा पार्टीका जेष्ठ सदस्यहरुलाई सम्मान तथा ‘समृद्ध नेपाल’ शिर्षकका गीत सार्वजनिक गरिएको छ ।
नेकपा एमाले हेटौंडा उपमहानगरपालिकाका अध्यक्ष शालिकराम पुडासैनीको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज रामेश्वर राणाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा एमालेका केन्द्रीय सल्लाहकार तथा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पोडैल, केन्द्रीय सदस्य आनन्त पौडेल, प्रदेश सदस्य रघुनाथ खुलाल लगायतको आतिथ्यता रहको थियो ।