पालिकास्तरीय (कक्षा ८) परीक्षामा सहभागी विद्यार्थीहरु ।

हेटौंडाः मकवानपुरको कैलाश गाउँपालिकाको पालिकास्तरीय परीक्षामा ३ सय १९ जना विद्यार्थी सहभागी भएका छन् । बार्षिक परीक्षामा सहभागी हुन फारम भरेका ३ सय २३ जना विद्यार्थीमध्ये ४ जना भने अनुपस्थित भएको कैलाश गाउँपालिकाका शिक्षा शाखा प्रमुख सूर्य बहादुर थिङले जानकारी दिनुभएको छ ।

शैक्षिकसत्रको सुरुवातमा ८ कक्षामा ३ सय ९१ जना विद्यार्थी भर्ना भएका थिए । कैलाश गाउँपालिकामा ८ कक्षाको पठनपाठन हुने १० विद्यालय छन् । पालिकास्तरीय परीक्षाका लागि कैलाश गाउँपालिकाले सम्बन्धित विद्यालयमा परीक्षा केन्द्र निर्धारण गरेको छ भने फरक विद्यालयका शिक्षकलाई निरीक्षकको जिम्मेवारी दिइएको छ ।

बैशाख २ गतेबाट पालिकस्तरीय परीक्षासँगै ९ कक्षासम्मको बार्षिक परीक्षा सुरु गरिएको थियो । कैलाश गाउँपालिकास्थित कालिका माविका प्रधानाध्यापक रामप्रसाद कालाखेतीको संयोजकत्वमा पालिकास्तरीय शैक्षिक समन्वय समितिले विद्यालयको बार्षिक परीक्षाको आवश्यक समन्वय तथा सहजीकरण गर्दै आएको छ ।

कैलाश गाउँपालिकामा ४९ वटा सामुदायिक विद्यालय छन् । विद्यालय तहमा ६ हजार ४ सय विद्यार्थी रहेको शिक्षा प्रमुख थिङले बताउनुभयो । शैक्षिक सत्र २०७८ को बार्षिक परीक्षाको नतीजा बैशाख २० गतेभित्र सार्वजनिक गरेर भर्ना अभियान सुरु गर्ने योजना रहेको शिक्षा प्रमुख थिङले जानकारी दिनुभएको छ ।