हेटौंडाः मकवानपुर जिल्लामा प्राथमिक तहमा १ सय ८४ जना नयाँ शिक्षक थपिने भएका छन् । शिक्षक सेवा आयोगले लिएको लिखित तथा मौखिक परीक्षामा सफल भएका १ सय ८४ जनाले नयाँ शिक्षकमा नियुक्ति पाउने भएका हुन् । गत वर्ष असोज महिनामा लिएको परीक्षाको नतिजा शिक्षक सेवा आयोगले सोमबार सार्वजनिक गरेको छ ।
प्रकाशित नतिजा अनुसार खुलातर्फ १ सय १ जना सफल भएका छन् । यसैगरी महिला कोटामा २६ जना, दलित महिला कोटामा १ जना, आदिवासी जनजाती कोटामा २३ जना, मधेशी कोटामा १८ जना, दलित कोटातर्फ ८ जना, अपाङ्ग कोटामा ४ जना र पिछडिएको क्षेत्र कोटामा ३ जना उम्मेदवार सफल भएका हुन् । यसैगरी शिक्षक सेवा आयोगले १७ जना उम्मेदवारलाई वैकल्पिक सूचीमा राखेको छ । खुला कोटामा ६ जना, महिलामा ३, दलित महिलामा १, आदिवासी जनजातीमा ३ मधेशी कोटामा २ दलित कोटामा १ र पिछडिएको कोटामा १ जनाको नाम वैकल्पिक सूचीमा राखेको हो । वैकल्पिक सूचीमा परेकाहरूले एक वर्षभित्र सफल उम्मेद्वारले जागिर छाडेमा वा राजिनामा दिएका वरियताका आधारमा नियुक्ति पाउने छन् । शिक्षक सेवा आयोगले २०६९ सालमा मकवानपुर जिल्लामा प्राथमिक तहका लागि शिक्षकको विज्ञापन गरेपछि अहिले ७ वर्षपछि अर्को विज्ञापन गरी शिक्षक नियुक्ति गर्न लागेको हो ।
सफल उम्मेद्वाहरूलाई नियुक्ति दिने प्रक्रिया केही ढिलो हुने शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख लिलानाथ गौतमले जानकारी दिनुभयो । शिक्षक सेवा आयोगले उत्तीर्ण शिक्षकहरूको नामावली शिक्षा विभागमा पठाउने र शिक्षा विभागले जिल्ला पठाएपछि मात्र नियुक्तिका लागि प्रक्रिया सुरु हुने प्रमुख गौतमले बताउनुभयो । मकवानपुर जिल्लामा प्राथमिक तहमा धेरै कोटा खाली रहेको र शिक्षक सेवा आयोगको विज्ञापनपछि खाली ठाउँमा शिक्षक नियुक्ति गर्न सहज हुने बताइएको छ ।