स्थानीय तहको निर्वाचन जोडतोडले लागेको छ । दलहरु उम्मेद्वार छनौटमा व्यस्त छन् भने निर्वाचन आयोगले पनि आफ्नो कामलाई निकै गति दिएको छ । बैशाख ३० गते एकै दिन निर्धारण गरिएको निर्वाचनका लागि तयारी तिव्र बनाएको आयोगले मतदानस्थलको सुरक्षा अवस्थामा विशेष ध्यान दिएको छ । मतदानस्थललाई सुरक्षाको दृष्टिकोणबाट अति संवेदनशील, संवेदनशील र सामान्य गरी वर्गीकरण गरिएको छ । अवस्थाको मूल्यांकनका लागि आयोगले स्थानीय जिल्ला प्रशासन, निर्वाचन कार्यालय र सुरक्षा संयन्त्रको परामर्श लिएको छ । मतदानस्थलको वर्गीकरण गर्दै गर्दा केलाई आधार मानिएको छ भन्ने पक्ष महत्वपूर्ण हुन्छ । भौगोलिक अवस्थिति वा राजनीतिक दलहरुका क्रियाकलाप वा निर्वाचन बहिस्कार गर्ने समूहमध्ये कसबाट कस्तो सुरक्षा चुनौती हो भन्ने कुरा निर्वाचन आयोगले स्पष्ट पार्नु पर्दछ ।

मकवानपुरमा १० वटा स्थानीय तहका लागि हुने निर्वाचनमा १ सय ६५ वटा मतदानस्थलहरु तोकिएका छन् । जसमा तीन सय ५६ मतदान केन्द्र निर्धारण गरिएको छ । सुरक्षाको दृष्टिकोणले १ सय ६५ वटा मतदान स्थलमध्ये १९ वटा अति संवेदनशील, ६० वटा संवेदनशील र बाँकी ८६ वटा कम संवेदनशील (सामान्य) रहेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । मतदानस्थलको सुरक्षा विश्लेषण के आधारमा गरियो भन्ने प्रश्न महत्वपूर्ण छ । जिल्लामा निर्वाचन बहिस्कार गर्ने कुनै समूहले अहिलेसम्म जानकारी गराएको छैन । यस्तै निर्वाचनमा सहभागी हुने राजनीतिक शक्तिहरुबाट खतराको अवस्था न्यून नै हुने गर्दछ । तर आफ्ना पक्षमा मतदातालाई प्राभावित पार्ने प्रयास भए त्यतिबेला हुने झडपको आँकलन गरिएको हो भने त्यसतर्फ राजनीतिक दल र कार्यकर्ताहरु बढी संवेदनशील हुन जरुरी छ ।

मकवानपुर जिल्लाभित्र स्थानीय तहको निर्वाचन भयरहित, शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न विशेष सुरक्षा योजनाअनुसार काम भएको प्रहरीको दावी छ । गृह मन्त्रालयबाट प्राप्त स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजनाका आधारमा जिल्लाको स्थानीय तह निर्वाचन विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको छ । विशेष सुरक्षा योजनाका आधारमा जिल्ला भित्रका मतदानस्थल तथा मतदान केन्द्रहरुको निरीक्षण र अनुगमन प्रमुख जिल्ला अधिकारीे नेतृत्वमा जिल्ला सुरक्षा समितिबाट हुनु पर्दछ । स्थानीय तहको निर्वाचनलाई भरपर्दो एवम् विश्वसनीय बनाउन जिल्लाभित्र रहेका इजाजतपत्र प्राप्त हातहतियारहरु चैत मसान्तसम्म प्रहरी इकाईमा बुझाउनुपर्ने हुन्छ । व्यक्तिगतरुपमा रहेका हतियारबाट मतदातामा भय श्रृजना गराउनेदेखि दुरुपयोगको सम्भावना हुनसक्ने आँकलन गरी सुरक्षा निकाय मातहत राख्ने व्यवस्था गरिएको हुन्छ ।

निर्वाचनलाई सुरक्षित बनाउन आयोगले मकवानपुरमा १ हजार ४ सय ७३ जना म्यादी प्रहरी छनौट गरेको छ । यस्तै निर्वाचनमा खटिने कर्मचारीहरुको लगत बनाउने, उनीहरुलाई प्रशिक्षित गर्ने कार्य निर्वाचन समितिमार्फत् हुन्छ । निर्वाचनको सुरक्षाभित्र मतदान केन्द्र, मतपत्र र मतपत्र बाकसमात्र हैन, खटिने सबै कर्मचारीको सुरक्षा राज्यको दायित्व हो । १५ दिनको तालिमले म्यादी प्रहरीले समग्र निर्वाचन प्रक्रियाको सुरक्षा दिने योगदान कति हुनसक्छ ? निर्वाचन आमनागरिक अधिकार उपयोगको अवसर हो । त्यसैले निर्वाचन प्रक्रियाको सुरक्षा जिम्मा कुनै निकायको भन्दा पनि समग्र मतदाता, राजनीतिक दल र भातृसंस्थाको हो । सुरक्षा निकायहरु सहजकर्ताका रुपमा रहने र सुरक्षाको जिम्मेवारी सबैको हुनु पर्दछ ।