सम्मानित खेलाडीहरु ।

हेटौंडाः जिल्ला बक्सिङ संघ मकवानपुरले बक्सिङ खेलाडीहरुलाई सम्मान गरेको छ । विभिन्न समयमा भएको बक्सिङ प्रतियोगितामा विजयी भएका खेलाडीहरुलाई आज मंगलबार एक साथ सम्मान गरिएको हो ।

चैत ६, ७ र ८ गते भएको अल नेपाल स्कुल व्बाइज एण्ड गल्स बक्सिङ प्रतियोगिता प्रथम र द्वितीय हुने खेलाडीलाई सम्मान गरिएको छ । यस्तै, ३६ किलोे तौल तर्फ प्रथम भएका अर्जुन सापकोटालाई नगद ३ हजार रुपैयाँ र ४९ किलो तौल समुहतर्फ द्वितीय भएका सिलेन वाईबालाई नगद २ हजार रुपैयाँसहित सम्मानगरिएको छ । सापकोटा र वाईबालाई बक्सिङ संघका अध्यक्ष दिपेश जोशीले व्यक्तिगत पुरस्कार प्रदान गर्नुभएको हो । यस्तै, युथ एण्ड जुनियर अल नेपाल बक्सिङ छनौट प्रतियागितामा प्रथम भएका खेलाडीहरुलाई सम्मान गरिएको छ । ५० किलो तौलतर्फ प्रथम भएकी रोशनी घलान, ६३ किलो तौलतर्फ प्रथम भएका सोहन राई र ५४ किलो तौलतर्फ सहभागी विकिता मोक्तानलाई सम्मान गरिएको हो । उनीहरुलाई जनही ५/५ हजार रुपैयाँसहित सम्मान गरिएको हो । १४ नम्बर वडा कार्यालयले उपलब्ध गराएको पुरस्कार रकम जिल्ला बक्सिङ संघले वितरण गरेको हो ।

यस्तै, प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगितामा बक्सिङ खेलमा तृतीय भएकाहरुलाई सम्मान गरिएको छ । ५७ किलो तौल समुहमा तृतीय भएका सुदेश मानन्धर, ६० किलो तौल समुहतर्फ तृतीय अनिष पुलामीलाई सम्मान गरिएको छ । मानन्धर र पुलामीलाई जनही नगद २ हजार ५ सय रुपैयाँका दरले सम्मान गरिएको हो । यस्तै, दश हजार किलोमिटर दौडमा तृतीय भएका बक्सिङ खेलाडी संजिव मिजारलाई २ हजार रुपैयाँसहित सम्मान गरिएको छ ।
जिल्ला वक्सिङ संघका अध्यक्ष दिपेश जोशीको अध्यक्षता तथा जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष भेष खड्गीको प्रमुख आतिथ्यतामा खेलाडीहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राजन दाहाल, बक्सिङ संघका उपाध्यक्ष सुशिल घिमिरे, संघका सदस्य तथा प्रशिक्षक अनिल दाहाल र युनिक बक्सिङ संघका सचिव मीन बहादुर घलान लगायतको उपस्थिति रहेको थियो ।