हेटौंडाः बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले ४ वटा अध्यादेश प्रमाणीकरण गर्नुभएको छ । चैत २२ गते बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकले सिफारिस गरेका अध्यादेश प्रदेश प्रमुख शर्माले चैत २४ गते प्रमाणीकरण गर्नुभएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । प्रदेश प्रमुखको कार्यालयका सचिव शिवराम न्यौपानेले जारी गरिएको अध्यादेशबारे सूचना प्रकाशित गरी जानकारी गराउनुभएको छ ।

प्रदेश प्रमुख शर्माले विवादित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान (पहिलो संशोधन) अध्यादेशसहित स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, विभूषण सिफारिस तथा सम्मान र पदकसम्बन्धी (पहिलो संशोधन) अध्यादेश प्रमाणित गर्नुभएको हो ।

जारी अध्यादेशलाई प्रदेश सभाको आगामी बैठक सुरु भएको ६० दिन भित्र प्रतिस्थापन विधेयक पेश गरी प्रदेश सभा बैठकबाट पारित गर्नुपर्नेछ ।