हेटौंडाः हेटौंडा–७, नागस्वतीस्थित २२ बर्षीय सन्देश ब्लोनको घरबाट मकवानपुर प्रहरीले ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ । प्रहरीले बरामद गरेको लागुऔषधको परिमाण हेर्दा सन्देशको घर लागुऔषधको अड्डा नै रहेको पुष्टि हुन्छ ।
प्रहरीले सूचनाको आधारमा शनिबार सन्देशको घरमा छापा मार्दा लागुऔषध ट्रामा १ हजार ४० ट्याब्लेट, नाईट्रोभेट ५ सय २५ ट्याब्लेट र मोरेक्स १० बोतल बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
हेटौंडा–७, हरियालीस्थित अस्थायी प्रहरी पोष्टबाट प्रहरी सहायक निरीक्षक लक्ष्मण बिकको कमाण्डमा खटिएको प्रहरी टोलीले सन्देशको घरमा छापा मारेको थियो । प्रहरीले सन्देश ब्लोनलाई हिरासतमा राखी थप अनुसन्धान गरिरहेको जनाएको छ ।