Home मुख्य समाचार आधुनिकलाई उत्कृष्ट विद्यालयको प्रमाणपत्र हस्तान्तरण

आधुनिकलाई उत्कृष्ट विद्यालयको प्रमाणपत्र हस्तान्तरण

उत्कृष्ट विद्यालयको प्रमाणपत्र प्रधानाध्यापक वीरवंश बैठालाई हस्तान्तरण गर्नुहुँदै मेयर महत ।

हेटौंडाः हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय माविले प्राप्त गरेको उत्कृष्ट विद्यालयको प्रमाणपत्र हस्तान्तरण गरिएको छ । ब्रिटिस काउन्सिलले प्रदान गरेको उत्कृष्ट सामुदायिक विद्यालयको प्रमाणपत्र मंगलबार बिहान हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले विद्यालयका प्रधानाध्यापक वीरवंश बैठालाई हस्तान्तरण गर्नुभएको हो ।

विद्यालयलाई अन्तर्राष्ट्रियस्तरमा विकास गर्ने सपना पूरा भएको विद्यालयका प्रधानाध्यापक बैठाले दावी गर्नुभयो । विद्यालयको स्रोत, साधनले अवार्ड प्राप्त गर्न योग्य बनाएको बैठाको भनाइ छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्तबहादुर बिश्वकर्माको सभाध्यक्ष तथा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्य कार्यक्रम भएको थियो । मेयर महतले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेर आधुनिक राष्ट्रिय माविले हेटौंडा र विद्यालयको नाम उच्च राख्न सहयोग गरेको बताउनुभयो ।

एक बर्षमा गरिएको मिहिनेतको उपलब्धीस्वरुप अवार्ड प्राप्त भएको भन्नुहुँदै ब्रिटिस काउन्सिलको स्तरीकरण परियोजनाका संयोजक सुरज बुढाथोकील आधुनिक राष्ट्रिय माविले नाम मात्र नभई कामले अन्तर्राष्ट्रिय विद्यालय बनाएको बताउनुभयो । शैक्षिक विकास कार्यक्रममा सहयोग गर्नुहुने शिक्षकहरुलाई पनि प्रशंसापत्र प्रदान गरिएको छ । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नवीन सिग्देल, विद्यालय व्यवस्थापन समितिका सदस्य, शिक्षक, विद्यार्थी र अभिभावकहरुको उपस्थिथि रहेको थियो ।

Exit mobile version