Home मुख्य समाचार टाइफाइड विरुद्धको राष्ट्रिय खोप अभियान मनहरीको भोजसिद्ध माविबाट सुरु हुने

टाइफाइड विरुद्धको राष्ट्रिय खोप अभियान मनहरीको भोजसिद्ध माविबाट सुरु हुने

टाइफाइड खोप अभियानबारे सञ्चारकर्मीका लागि आयोजित अभिमुखीकरण कार्यक्रम ।

हेटौंडाः नेपाल सरकारले बालबालिकाका लागि पहिलो पटक टाइफाइडविरुद्धको खोप अभियान आउँदो शुक्रबारबाट सुरु गर्दैछ । टाइफाइडविरुद्धको राष्ट्रिय खोप अभियानको सुरुवात मकवानपुरको मनहरी गाउँपालिकास्थित भोजसिद्ध माविबाट सुरु हुनेछ । अभियानको संघीय सरकारका स्वास्थ्य मन्त्री विरोध खतिवडाले गृह जिल्लाको ग्रामीण विद्यालयबाट सुरुवात गर्न लाग्नुभएको हो ।

१५ महिनादेखि १५ वर्ष उमेर समूहलाई लक्षित गरी सुरु गर्न लागिएको अभियानमा देशभरका ७५ लाख बालबालिका लाभान्वित हुने लक्ष्य सरकारको छ । चैत २५ गतेबाट सुरु भएर बैशाख ५ गतेसम्म सञ्चालन हुने अभियान विद्यालय केन्द्रित गरिएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिनुभयो । मंगलबार हेटौंडा उपमहानगरपालिकाको सभाकक्षमा टाइफाइड विरुद्धको खोप अभियानबारे सञ्चारकर्मीका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा जनस्वास्थ्य निरीक्षक चौलागाईले खोप अभियानको लक्षित समूहको ८० प्रतिशत बालबालिकालाई विद्यालयमै खोप लगाइने जानकारी दिनुभयो ।

हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य शाखाले हेटौंडा उपमहानगरक्षेत्रमा सरकारी तथा निजी गरी १ सय ३५ वटा विद्यालयमा खोप केन्द्र निर्धारण गरी खोप कार्यक्रम सञ्चालन गर्ने तालिका तयार गरेको छ । यस्तै नगरक्षेत्रमा रहेका २० वटा स्वास्थ्य संस्थामा पनि खोप लगाइने बताइएको छ । १५ बर्ष उमेरसम्मका बालबालिकालाई टाइफाइडको संक्रमण हुने र जटिलता हुने दर उच्च रहेकोले खोप लगाउन अभियाननै सञ्चालन गरिएको चौलागाईको भनाइ छ । विश्व स्वास्थ्य संगठनले गुणस्तर प्रमाणित गरेको भारतमा उत्पादन भएको खोप लगाउन लागिएको हो । खोप पर्याप्त रहेको र अभियानपछि नियमित खोप कार्यक्रममा पनि लक्षित बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने बताइएको छ ।

Exit mobile version