सहकारी दिवसको अवसरमा किसानलाई सम्मान गरिँदै ।

हेटौंडाः ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले किसानलाई नगदसहित सम्मान गरेको छ । वार्षिक कार्यक्रमअन्तर्गत नै गाउँपालिकाले ६ जना पशुपालक किसान र ६ जना कृषि क्षेत्रका किसानलाई जनही २५ हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरेको छ ।

सहकारी दिवसको अवसरमा आइतबार मकवानपुरगढी गाउँपालिका–६, भालुखोलामा आयोजित कार्यक्रममा सहकारी अभियन्ता बद्रिप्रसाद लम्साल र नारायणप्रसाद देवकोटालाई पनि सम्मान गरेको छ । यस्तै गाउँपालिकामा रहेका विभिन्न ८ वटा विषयगत सहकारीलाई सम्मान गरेको गाउँपालिकाले उत्कृष्ट ¥याली झाँकी प्रदर्शनी गर्नेलाई ४ वटा सहकारी प्रशंसापत्र प्रदान गरेको थियो ।

गाउँपालिकाको आयोजनामा भएको कार्यक्रमको सभाध्यक्ष गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईको रहेको थियो भने जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनीको प्रमुख आतिथ्य रहेको थियो । सभाअघि र्‍यालीको आयोजना गरिएको थियो । मकवानपुरगढी गाउँपालिकामा ६१ वटा सहकारी संस्था सञ्चालित छन् । गाउँपालिकाले सहकारी संस्थामार्फत किसानलाई खाद्यान्न, तरकारी तथा फलफुल उत्पादनमा नगद अनुदान दिने गरेको छ । यस्तै गाउँपालिकाले कृषि, खाद्यान्न तथा फुलफुलजन्य उत्पादनको बजारीकरणमा पनि सहयोग गर्दै आएको छ ।