सहकारी दिवसको अवसरमा सम्मानित व्यक्तिहरु ।

हेटौंडाः मर्यादित व्यवसाय र प्रविधिमा सहकारी भन्ने नारासहित ६५ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा मनाइएको छ । सहकारी दिवसको अवसरमा सहकारी संस्था र सहकारीकर्मीलाई सम्मान गरिएको छ ।

सहकारी दिवसको अवसरमा सहकारी अभियन्ता बद्रीप्रसाद लम्साललाई सम्मान गरेको छ । प्रदेशस्तरीय सहकारी दिवस मूल समारोह समितिले दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा नारायणी वहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई सम्मान गरेको छ । ऐतिहासिक सम्मानमा बागमती प्रदेशले वखान वहुद्देश्यीय सहकारी संस्था भरतपुर–१९, चितवनलाई सम्मान पत्र प्रदान गरिएको छ । सहकारी दिवसको अवसरमा प्रवचन कार्यक्रमअघि प्रभातफेरीको आयोजना गरिएको थियो । प्रभातफेरीमा नौमति बाजा र खैँजेडी भजन समूहको पनि सहभागिता रहेको थियो । प्रभातफेरीमा सहभागी युवा वचत तथा ऋण सहकारी संस्था हेटौंडा–२ को नैमति बाजा समूह र मनहरी–८ को साना किसान कृषि सहकारी संस्थाको खैंजेडी भजन समूहलाई सम्मान गरिएको छ ।

प्रभातफेरीमा हेटौंडा–११ स्थित बागेश्वरी महिला बचत सहकारी संस्था लिमिटेडलाई उत्कृष्ट घोषित गर्दै नगद पाँच हजार रुपैयाँसहित सम्मान गरिएको छ । हेटौंडा–१३ स्थित महिला मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेड दोस्रो हुँदै नगद तीन हजार र सम्मानपत्र प्राप्त गर्दा हेटौंडा–१२ स्थित महिला सेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेड तेस्रो हुँदै दुइ हजार नगदसहित सम्मानपत्र प्राप्त गरेको छ । सहकारी दिवसकै अवसरमा मानव सेवा आश्रमलाई खाद्यान्नका लागि २० हजार रुपैयाँ प्रदान गरिएको छ ।

६५ औं राष्ट्रिय सहकारी दिवस समारोह समितिका संयोजक नारायण प्रसाद देवकोटाको सभाअध्यक्षता र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम पौडेलको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा मन्त्री बलराम पौडेलले सहकारी क्षेत्रलाई प्राथमिकता दिएर बागमती प्रदेश सरकारले मन्त्रालय नै स्थापना गरेको बताउनुभयो । आगामी आर्थिक वर्षमा सहकारीका व्यवस्थापकहरुलाई प्रशिक्षणका कार्यक्रम सञ्चालन गर्ने मन्त्री पौडेलको भनाइ छ । सहकारी दिवसको अवसरमा आयोजित सभा परिसरमा मकवानपुर जिल्ला कृषि सहकारी संघको समन्वयमा मकवानपुरका किसानले उत्पादन गरेको फलफुल, तरकारी तथा गेडागुडीजन्य उत्पादनको प्रदर्शनी तथा विक्रीका लागि स्टल राखिएको थियो ।