पछिल्लो समय बालविवाहका घटना वृद्धि हुँदै जाँदा यसको नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको छ । मकवानपुर जिल्लामा पनि आफूखशी बालविवाह गर्नेको संख्या उल्लेख्य रहेको पाइन्छ । जिल्लाका स्थानीय तहहरुले आफूलाई धमाधम बालमैत्री घोषणा गरिरहेको अवस्थामा समुदायमा बालविवाह बढ्दै जानुलाई स्वभाविक मान्न सकिँदैन । विगतका दिनहरुमा अभिभावक सचेत नहुँदा अभिभावककै दबावमा बालविवाह हुने गरेको थियो । आजकल भने अभिभावकको दबावका कारण नभई बालबालिकाकै स्वेच्छाले बालविवाह गर्ने क्रम बढ्दै गइरहेको छ । बालबालिका स्वयम्कै अपरिपक्व निर्णयबाट हुने बालविवाह र त्यसले निम्त्याउने समस्या जटिल बन्दै जाने सम्भावना बढेको छ । बालबालिकामा मोबाइल फोन र सामाजिक सञ्जालको सहज पहुँचका कारण कम उमेरमै हुने प्रेम सम्बन्धले बालविवाह बढाउन थप सहयोग गरिरहेको छ ।
समाजमा बालविवाह बढ्दै गइरहेको अवस्थामा बालअधिकारको क्षेत्रमा क्रियाशील सिविन नेपालद्वारा सञ्चालित बालहेल्पलाइन मकवानपुरले बालविवाह न्यूनीकरणमा उल्लेख्य सफलता हासिल गरेको छ । सन् २०२१ मा बालहेल्पलाइनमा दर्ता भएका ५० वटा बालविवाहका घटनामध्ये ४४ वटा बालविवाह रोक्न सफल भएको छ । शुक्रबार बालहेल्पलाइनले पत्रकार सम्मेलन गरेर बालविवाहसम्बन्धी ५० वटा घटना भएकोमा ४४ वटा बालविवाह रोक्न सफल भएको जानकारी दिएको छ । बालविवाह हुनुभन्दा अगाडि जानकारी भएमा रोक्न सहज हुने गरेको भए पनि विवाहपछि शारीरिक सम्बन्ध स्थापित भएको अवस्थामा बालविवाह रद्ध गर्न कठिन हुने बालहेल्पलाइनले जनाएको छ । सन् २०२१ मा बालहेल्पलाइन मकवानपुरमा ११ जना बालबालिका हराएको सूचना प्राप्त भएकोमा सबै बालबालिका फेला परेका छन् । सोही अवधिमा बाल दुव्र्यवहारका १६ घटना भएको बालहेल्पलाइनले उल्लेख गरेको छ ।
ठूलो सामाजिक समस्या तथा कुरिति बनिरहेको बालविवाह कानुनीरुपमा पनि दण्डनीय छ । सरकारी तथा गैरसरकारी निकायबाट बालविवाह अन्त्यका लागि विभिन्न कार्यहरु भइरहेको भए पनि बालविवाह रोकिन सकेको छैन । २० वर्षभन्दा कम उमेरमा विवाह गर्न तथा गराउन नपाउने कानुनी व्यवस्थालाई धज्जी उडाउँदै बालबालिकाको उमेर नपुगी विवाह भइरहेको छ । तराई, पहाड, हिमाल सबै क्षेत्रमा बालविवाह हुनुले यसलाई एउटा विकराल समस्याका रुपमा रहेको मान्न सकिन्छ । समस्या गरिबको झुपडीमा छ, समाधानका बहसहरु धनी र हुनेखानेका बीचमा मात्र सीमित भइरहेको यथार्थलाई नकार्न सकिँदैन ।
वर्षौंदेखि समाजमा जरो गाडेर बसेको कुरीतिको अन्त्य गर्नु पक्कै सहज छैन । विशेषगरी अज्ञानता, बाध्यता र विवशताका कारण ग्रामीण क्षेत्रका बालबालिका बालविवाहबाट पीडित बनिरहेका छन् । बालविवाह अन्त्यका लागि बालविवाहविरुद्धकको कानुन कडाईका साथ कार्यान्वयन हुनुपर्छ । बालविवाहविरुद्ध अभिभावक र स्वयम् बालबालिका पनि जागरुक बन्नुपर्छ । गरिबी र चेतनाको कमीले बालबालिका तथा अभिभावक बालविवाहको नकारात्मक असरबारे बेखबर बनिँदिँदा बालविवाह अन्त्य गर्न कठिन भइरहेको छ । बालविवाह अन्त्यका लागि बालविवाह र पारिवारिक शिक्षासँग सम्बन्धित जनचेतनामूलक कार्यक्रम गाउँगाउँमा सञ्चालन गर्नुपर्छ । सबै सरोकारवालालाई २० वर्षभन्दा कम उमेरमा विवाह गर्दा र बच्चा जन्माउँदा हुने पीडा र समस्याबारे बुझाउनु आवश्यक छ ।