प्रेस चौतारी नेपाल जिल्ला कमिटी मकवानपुरले गरेको पत्रकार सम्मेलन ।

हेटौंडाः नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेले आगामी निर्वाचनमा कुनै पनि दलसँग तालमेल नगर्ने बताउनुभएको छ । नेकपा एमाले आफ्नो क्षमतामा चुनावी प्रतिष्पर्धामा जाने उहाँले स्पष्ट पार्नुभयो ।

आज प्रेस चौतारी नेपाल जिल्ला कमिटी मकवानपुरले गरेको पत्रकार सम्मलनमा बोल्दै सचिव भट्टराईले आगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा एमालेले कुनै पनि राजनीतिक दलसँग तालमेल नगर्ने बताउनुभएको हो । उहाँका अनुसार चैत ९ र १० गते बसेको केन्द्रीय कमिटीको बैठकले स्थानीय निर्वाचनमा कुनै पनि दल सँग तालमेल नगर्ने निर्णय भएको छ । उहाँले भन्नुभयो, “निर्वाचनलाई लक्षीत गरी पार्टीले केन्द्रिय सदस्यहरुलाई जिल्लामा पठाएको छ । बैशाखको पहिलो सातासम्म स्थानीय निर्वाचनको उम्मेद्वार टुङ्गो लगाउँछौं ।”

नेकपा एमालेले पार्टी स्थापना दिवसको अवसर पारेर बैशाख ९ गते चुनावी घोषणा पत्र सार्वजनिक गर्ने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नेकपा एमालेले उमेरद्धवारको मापदण्ड बनाएको छ । जसमा पार्टी प्रतिको प्रतिबद्ध भएको व्यक्ति, स्थानिय विकास निर्माणका अबधारणा बुझेका व्यक्ति उम्मेदवार हुन्छन् । यस अघिको निर्वाचनमा जितेर सफल कार्यकाल गर्न सक्षम व्यक्तिलाई प्राथमिकतामा राख्छौ ।”

निवाचनको लागि उम्मेदवारी सिफारिस गर्ने प्रक्रियामा वडाको अध्यक्ष र सदस्यको सिफारिस पालिका कमिटिले गर्ने, पलिकाको प्रमुख, उपप्रमुखलाई जिल्ला कमिटीले सिफारिस गर्ने र महानगर, उपमहानगरको हकमा सम्बन्धित जिल्ला कमिटिको सिफारिसमा केन्द्रले उम्मेदवारी छान्ने उहाँले जानकारी दिनुभयो । वर्तमान सरकारले स्थानीय तहको चुनाव गर्न नचाहेको आरोप लगाउँदै नेकपा एमालेको पहलमा, दवावमा चुनाव हुन लागेको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा प्रेस चौतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको सभाध्यक्षता र नेकपा एमालेका केन्द्रिय सचिव योगेश भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो ।