हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिका आज बालमैत्री गाउँपालिका घोषणा हुँदैछ । आज गाउँपालिकाले बृहत कार्यक्रमको आयोजना गरी बालमैत्री घोषणा गर्ने तयारी गरेको छ । मकवानपुर जिल्लाकै तेस्रो र नेपालको चौथो बालमैत्री गाउँपालिकाको रुपमा आज गढी गाउँपालिका बालमैत्री घोषणा हुँदैछ ।
गाउँपालिकाले २०७४ माघ १९ र २० गतेदेखि बालमैत्री स्थानीय शासन नीतिगत अबलम्बन तथा सामुहिक प्रतिबद्धता गरी बालमैत्री अभियानलाई सक्रियताका साथ अगाडि बढाएको थियो । घोषणा कार्यक्रममा बागमति प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको प्रमुख आतिथ्यता रहनेछ ।
गाउँपालिकामा ५ हजार ३ घरधुरी तथा जनसंख्या २५ हजार १ सय ५ रहेको छ । ८ हजार २ सय ९६ बालबालिका रहेको पालिकाले विद्यालय जाने उमेरका सबै बालबालिकालाई विद्यालय जाने सुनिश्चित गरेकोब छ । यसअघि नै गाउँपालिकाको ८ वटै वडालाई बाल मैत्री वडा घोषणा गरिएको थियो । कार्यक्रममा गायक निशान भट्टराई, स्वस्तिका ढकाल, प्रकाश तामाङ लगायत स्थानीय कलाकारहरु विविधि साँस्कृतिक प्रस्तुति रहनेछ ।