हेटौंडाः मकवानपुरगढी गाउँपालिकालाई आगामी चैत १२ गते शनिबार बालमैत्री गाउँपालिका घोषणा गरिँदैछ । बालमैत्री स्थानीय शासनकै लागि प्रथम पटक पालिकालाई बालमैत्री घोषणा गरिने प्रयास भने होइन । यसअघि मकवानपुरका हेटौंडा उपमहानगरपालिका, मनहरी र बकैया गाउँपालिकालाई बालमैत्री घोषणा गरिसकिएको छ । बालमैत्री स्थानीय शासन अभियानका रुपमा मात्र सिमित नभई प्रभावकारी कार्यान्वयन हुनुपर्ने सरोकारवालाहरुको भनाइ छ ।
मकवानपुरगढी गाउँपालिकाकी किशोरी स्वस्तिका दाहालले बालमैत्री घोषण हुनु खुसीको विषय रहेको बताउनुभयो । २० वर्ष उमेर नपुगी विवाह गर्ने बालबालिकाको संख्या गाउँपालिकामा उल्लेख्य रहेको जानकारी दिनुहुँदै दाहालले यसको निराकरणमा स्थानीय सरकार लाग्नुपर्ने बताउनुभयो । मकवानपुरगढीमा बाबुआमाले विवाह गर्नुभन्दा पनि आफूखुसी विवाह गर्नेहरु धेरै रहेको उहाँको भनाइ छ ।
‘बालमैत्री स्थानीय शासन, मकवानपुरगढी गाउँपालिकाको मुख्य अभियान’ नारासहित मकवानपुरगढीलाई बालमैत्री गाउँपालिका घोषणा गर्ने तयारी अन्तिम अवस्थामा पुगेको छ । बालमैत्री घोषणाको तयारीस्वरुप यसअघि नै गाउँपालिकाका सबै वडाहरुलाई बालमैत्री घोषणा गरिसकिएको छ ।
मकवानपुरगढी गाउँपालिकालाई पनि बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ ले बालमैत्री घोषणाका लागि निर्देश गरेको छ । सोही आधारमा ५१ वटा सूचकहरु पूरा भएस“गै मकवानपुरगढीलाई मकवानपुरको चौथो बालमैत्री स्थानीय तह घोषणा गरिने भएको हो ।
बालबालिकाको अधिकार सुनिश्चितताका लागि बालमैत्री गाउँपालिका घोषणा गर्ने गरिन्छ । बालमैत्री घोषणा गरिने दिन गाउँपालिकामा बालमैत्री र्याली, झाँकीका साथमा पञ्चेबाजा एवम् खैजडी भजनलगायत सांस्कृतिक कार्यक्रम आयोजना गर्ने बताइएको छ । बालमैत्री गाउँपालिका घोषणासँगै सामूहिक प्रतिवद्वता जाहेर गर्ने कार्यक्रम निर्धारण गरिएको छ । राष्ट्रिय एवम् स्थानीय कलाकारहरुको साथमा विविध सांस्कृतिक कार्यक्रम, विभिन्न सामाजिक एवम् राजनीतिक व्यक्तित्वलाई सम्मान गरिने जनाइएको छ । बालमैत्री घोषणा कार्यक्रममा गायक निशान भट्टराई, प्रकाश तामाङ र गायिका स्वस्तिका ढकालको सांगीतिक प्रस्तुति रहनेछ ।
मकवानपुरगढी गाउँपालिकाको कार्यालय मक्राञ्चुलीको आयोजनामा बालमैत्री घोषणा गरिने भएको छ । बालमैत्री घोषणाका लागि पूरा गर्नुपर्ने सूचकहरु पूरा भएको सुनिश्चिततासँगै घोषणापछिको कार्यान्वयनको अवस्थालाई पनि प्रभावकारी अनुगमन गर्नुपर्ने सरोकारवालाहरुको भनाइ छ । बालमैत्री घोषणाका लागि स्थानीय सरकारबीच प्रतिस्पर्धा हुन नहुने बालमैत्री घोषणाका लागि हतार गर्न नहुने सरोकारवालाहरुको सुझाव छ ।