भीमफेदी गाउँपालिकामा पृथ्वी चन्द अस्पतालको सिलान्यास गर्दै ।

भीमफेदीः मकवानपुरको भीमफेदी गाउँपालिकामा १५ सैय्याको पृथ्वीचन्द्र अस्पताल भवनको सिलान्यास गरिएको छ । बिहीबार एक समारोहबीच भीमफेदी–५ र ६ वडाका १५ जना ज्येष्ठ नागरिकले संयुक्तरुपमा अस्पताल भवनको सिलान्यास गर्नुभएको हो । करिब १२ करोडको लागतमा अस्पताल भवन निर्माण हुनेछ ।

टेन्डर प्रक्रियाबाट अस्पताल भवन निर्माण गरिन लागेको भीमफेदी गाउँपालिकाकी उपाध्यक्ष पर्वती रानाले जानकारी दिनुभयो । अस्पताल सञ्चालनमा आएपछि भीमफेदी गाउँपालिकाका नागरिकदेखि इन्द्रसरोवर गाउँपालिका कुलेखानीका नागरिकले समेत स्वास्थ्य सेवा प्राप्त गर्न सकिने उहाँले बताउनुभयो । कार्यक्रम भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाको सभाध्यक्ष तथा जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भागवती पुडासैनीको विशेष अतिथ्य रहेको थियो ।

भवन सिलान्याश गर्नुहुने १५ जना ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । साँस्कृतिक टोली र पन्चेबाजा टोली सुपिङलाई नगदसहित सम्मान गरिएको छ । गाउँपालिकाका ईन्जिनियर सुन्दर बर्ताैलाले संघीय सरकारको स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्डअनुसार नै सेवा, सुविधा सम्पन्न भवन निर्माण हुने बताउनुभयो । अस्पताल भवनमा ३ वटा ब्लक रहनेछ । लिफ्ट सिस्टमसहित भूकम्प प्रतिरोधि, बालमैत्री, अपाङ्गमैत्री भवनमा प्रयोगशाला, एक्सरे, शल्यक्रिया र इमर्जेन्सी सेवा उपलब्ध रहने छ । अस्पताल भवन सिलान्यासपछि जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख पुडासैनीले ७५ बर्षभन्दा बढी उमेरका ज्येष्ठ नागरिकको निशूल्क स्वास्थ्य सेवा दिनुपर्ने बताउनुभयो ।