हेटौंडाः मकवानपुर गढी गाउँपालिकालाई बालमैत्री घोषणा गर्ने तयारी भईरहेको छ । गाउँपालिकाको ८ वटै वडा बालमैत्री घोषणा भएकोले गाउँपालिकालाई नै बालमैत्री घोषणा गर्ने तयारीमा गाउँपालिकाले तीव्र तयारी गरिरहेको छ ।
गत फागुन २७ गते गाउँपालिकाका सबै वडाहरु बालमैत्री घोषणा भएको थियो । गाउँपालिकालाई बाल मैत्री घोषणाको लागि ५१ सदस्य मुल आयोजक समिति बनाएको छ । यस्तै, ७ वटा उप समिति, मञ्च स्वागत तथा गेट निर्माण, सूचना तथा जन परिचालन, खानेपानी, सरसफाई तथा चियापान, स्वागत सम्मान, व्यवस्थापन, प्रचार प्रसार, छपाई व्यवस्थापन र आर्थिक परिचालन उपसमिति गठन गरी तीब्र रुपमा काम भईरहेको छ ।
बालमैत्री घोषणाको ५१ वटा सुचकमा ३८ वटा पास भएको मकवानपुर गढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले जानकारी दिनु भएको छ । उहाँले भन्नुभयो, “गाउँपालिकाले पास गरेको सबै सुचकहरु सामाजिक विकास मन्त्रालय र जिल्ला समन्वय समिति मकवानपुरलाई निवेदन दिनुपर्छ । निवेदन पश्चात् बागमति प्रदेश सरकारबाट अनुगमन हुन्छ । त्यसपछि मात्र बालमैत्री गाउँपालिका घोषणा गर्न पाइन्छ । हामीले घोषणाका लागि सम्पूर्ण तयारी गरिसकेका छौं ।”
गाउँपालिकालाई दिगो विकासको लागि ५ वर्ष रणनैतिक योजना तयार पारिएको गाउँपालिका अध्यक्ष हुमागाईले बताउनुभयो । आगामी चैत १२ गते गाउँपालिकामा बृहत कार्यक्रम आयोजना गरी भव्य रुपमा बालमैत्री गाउँपालिका घोषणा गर्ने तयारी भएको उहाँले जानकारी दिनुभयो ।