सरकारको सिफारिसमा निर्वाचन आयोगले २०७९ वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन मिति तोकेको छ । निर्वाचनको मिति आउन अब ठ्याक्कै दुई महिना बाँकी छ । निर्वाचन घोषणा भए पनि राजनीतिक दलहरुमा तयारी तिब्र देखिएको छैन । निर्वाचन गराउने मुख्य जिम्मेवारी पाएको निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन तयारी गरिरहेको भए पनि अधिकांश राजनीतिक दलहरुले चुनावी अभियान सुरु गर्न सकेका छैनन् । दलहरुमा निर्वाचनको लागि आन्तरिक तयारी भइरहेको भए नेपाली कांग्रसबाहेकका दलहरुले चुनावलक्षित कार्यक्रम सार्वजनिक गरेका छैनन् । नेपाली कांग्रसले भने आइतबार देशभर एकैसाथ स्थानीय चुनावलक्षित प्रचारात्मक कार्यक्रम लिएर आम मतदातासम्म पुग्नका लागि अभियान घोषणा गरेको हो ।
‘घरघरमा जाऔं, कांग्रेसलाई जिताऔं’ नाराका साथ नेपाली कांग्रेसले अभियान सुरुवात गरेको जनाएको छ । मकवानपुरमा नेपाली कांग्रेसको केन्द्रबाट खटिएर आएका प्रतिनिधि गुरुराज घिमिरेले अभियानको बारेमा अभिमुखीकरण गराउनुभएको छ । एक महिने अभियानको क्रममा जनताको घरघरमा पुग्ने र जनतालाई झक्झक्याउने बताइएको छ । अभियानका क्रममा वडामा खटिने प्रतिनिधिले टोल–टोलमा गएर जनतालाई मताधिकार प्रयोग गर्न प्रेरित गर्ने, नेपाली कांग्रेसका लागि मत माग्ने काम गर्नेछन् । स्थानीय तह निर्वाचनमा पहिलो पटक मतदान गर्ने समूूहलाई मतदानको महत्वबारे बुझाउने, मतदाता शिक्षा सञ्चालन गर्ने, भातृ र शुभेच्छुक संस्थाको सहयोग लिने, सामाजिक सञ्जालको उपयोग गरी पार्टीका गतिविधि प्रचार गर्ने, स्थानीय सञ्चार माध्यममार्फत् प्रचारप्रसार गर्ने, घोषणापत्र तयार पार्ने, जनधारणा बुझ्नेलगायतको कार्य गरिने बताइएको छ ।
अहिले प्रायः दलहरु स्थानीय तह निर्वाचनको तयारीमा जुटिरहेका भए पनि उम्मेदवारी घोषणापछि मात्र चुनावी गतिविधि बढ्ने गर्दछ । सत्तारुढ ५ दलीय गठबन्धनले स्थानीय चुनावमा कसरी गठबन्धनलाई अघि बढाउने भन्ने निर्णय नगरेका कारण पनि निर्वाचनको चलहपहल देखिन नसकेको हो । देशमा अहिले अधिकारसम्पन्न ७ सय ५३ वटा स्थानीय तह छन् । ती सबै स्थानीय तहमा वैशाख ३० गते एकैदिन निर्वाचनको मिति तोकिएको छ । निर्वाचनमा सहभागी हुने दलहरु निर्वाचन आयोगमा दर्ता भइसकेका छन् । अब इच्छुक दलहरुले आफ्ना उम्मेदवारको टुंगो लगाएर आफ्नो दल र निर्वाचनको प्रचारप्रसारलाई तिब्रता दिनु आवश्यक छ । नेपाली कांग्रेसले जस्तै अन्य दलहरुले पनि निर्वाचन लक्षित प्रचारप्रसार कार्यक्रम घोषणा गरी आम मतदातालाई निर्वाचन प्रक्रिया र यसको महत्वको बारेमा जानकारी गराउन सक्नुपर्छ ।
देशका आम नागरिक, राजनीतिक दल, सरकार, निर्वाचन आयोगलगायत सबै पक्षले निर्वाचन अभियानलाई तिब्र पार्नुपर्छ । अधिकारसम्पन्न स्थानीय तहमा योग्य कुशल नेतृत्व चयनका लागि सबै नागरिक सचेत भएर मतदान गर्नुपर्छ । निर्वाचनमा जति धेरै मतदाताको सहभागिता भयो त्यति सक्षम र योग्य नेतृत्व चयन हुनुुका साथै निर्वाचनको प्रभावकारिता बढ्दछ । आम मतदाता आफू बसोबास गरेको स्थानीय तहलाई प्रभावकारीरुपमा हाँक्नसक्ने उम्मेदवारलाई जिताउन संवेदनशील बन्नुपर्छ । यसका लागि निर्वाचन विधिदेखि उम्मेदवारको सवलता र दुर्वलता विश्लेषण गर्नसक्ने सक्षमता आम मतदातामा विकास गराउनु आवश्यक छ । सकेसम्म सबै मतदातालाई निर्वाचनमा सहभागी गराउन र योग्य उम्मेदवारलाई मतदान गर्ने अवस्था सृजना गर्न प्रभावकारी मतदाता शिक्षा सञ्चालन गर्नुपर्छ ।










