मानिसले प्रयोग गर्ने घरमा रहेको गणितीय पक्षबारे जानकारी गराउँदै एक विद्यार्थी ।

हेटौंडाः अन्तर्राष्ट्रिय पाइ डेको अवसरमा हेटौंडा–४, कमलडाँडास्थित नवोदय शिशु सदन माविका विद्यार्थीले म्याथ क्याम्प फायरको आयोजना गरेका छन् । गणित विषयको प्रयोग र अभ्यास गरेर गणित विषयको महत्व बुझाउन म्याथ क्याम्प फायरको आयोजना गरिएको विद्यालयले जनाएको छ ।

एउटा समूहमा बढीमा ७ जना विद्यार्थी सम्मिलित भएर अभ्यास गरेका छन् । १६ वटा समूहले गणितसम्बन्धी अभ्यास गरेर आफ्ना अनुभव र बुझाई प्रस्तुत समेत गरेका छन् । दैनिक उपभोग्य विभिन्न बस्तुको गणितीय मानबारे छलफल गरेर १० दिनको तयारीमा विद्यार्थीले आफ्नो बुझाईलाई सोमबार दिनभर प्रस्तुत गर्नेछन् । विद्यालयले म्याथ क्लब नै गठन गरेर गणितसम्बन्धी विभिन्न क्रियाकलाप गर्दै आएको छ । नवोदय शिशु सदन माविको म्याथ क्लबकी संयोजक एवम् शिक्षक अनु श्रेष्ठका अनुसार विद्यार्थीलाई गणितको विषयमा बुझाउन मौलिक एवम् परम्परागत सामग्रीलाई गणितीय मानकमा बुझ्न र बुझाउन खोजिएको छ ।

‘गणित विषयलाई विद्यार्थीले नरुचाउने र अध्ययन गर्नै नखोज्ने अवस्था देखिने गरेको छ’, म्याथ क्लबकी संयोजक अनु श्रेष्ठले भन्नुभयो, ‘गणितबारे बुझाउन र अध्ययनमा प्रेरित गर्न क्याम्प फायरको अभ्यास गरेका छौं । विद्यार्थीहरुले दैनिक जीवनमा गणितको उपयोगितालाई बुझेर गणितप्रति आकर्षित हुनेछन् ।’ दैनिक जीवनमा जताततै गणित छ भन्ने बुझाउन म्याथ क्याम्प फायरको आयोजना गरिएको श्रेष्ठको भनाइ छ ।

विद्यार्थीले माना, पाथी, करुवा, घर, पर्खाललगायत विभिन्न वस्तुमा रहने गणितीय पक्षको विश्लेषण गरेका छन् । कोभिड–१९ को जोखिमका कारण गत वर्ष भर्चुअल माध्यमबाट आयोजना गरिएको कार्यक्रम यो बर्ष विद्यालय परिसरमा भौतिक उपस्थितिमै आयोजना गरिएको छ । विद्यार्थीले आमन्त्रित विभिन्न क्षेत्रका व्यक्तिलाई आफूले गरेको अभ्यासबारे प्रस्तुती गरेका थिए ।