हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ को क्याम्पाडाँडामा एक करोड ७० लाख रुपैयाँ लागतमा पिप्ले क्याम्पा रंगशाला निर्माण भएको छ । हेटौंडा उपमहानगरपालिका र जनसमुदायको सहयोगमा निर्माण भएको रंगशालाको आज शुक्रबार उद्घाटन हुँदैछ ।
पिप्ले युवा क्लबको अगुवाइ र हेटौंडा उपमहानगरपालिकाको सहयोगमा रंगशाला निर्माण सुरु गरिएको थियो । रंगशाला निर्माण गर्न हेटौंडा उपमहानगरपालिका, ५ नम्बर वडा कार्यालय र व्यक्तिगतरुपमा पनि सहयोग प्राप्त भएको थियो । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता सञ्चालन गर्त र खेलाडीलाई दैनिक प्रशिक्षणका लागि व्यवस्थित स्थानको रुपमा पिप्ले रंगशाला निर्माण गरिएको पिप्ले युवा क्लबका अध्यक्ष सुशील घिमिरेले जानकारी दिनुभयो । करिब पाँच बिगाह क्षेत्रफलमा निर्माण भएको रंगशालामा करिब १० हजार दर्शक अटाउने अध्यक्ष घिमिरेले जानकारी दिनुभयो ।
रंगशाला निर्माणमा हेटौंडा उपमहानगरपालिकाको एक करोड ९ लाख रुपैयाँ, ५ नम्बर वडा कार्यालयको ३० लाख रुपैयाँ बजेट परेको थियो । यस्तै, जनसमुदायबाट ३० लाख रुपैयाँ संकलन भएको अध्यक्ष घिमिरेले बताउनुभयो । एक करोड ७० लाख रुपैयाँ लागतमा बनेको रंगशाला हेर्नलायक बनेको उहाँले दाबी गर्नुभयो ।
अध्यक्ष घिमिरेले भन्नुभयो, ‘आफू पनि खेलाडी हो । खेल क्षेत्रप्रति छुट्टै लगाव छ । बागमती प्रदेशको राजधानीको रुपमा रहेको हेटौंडामा खेलकुदको लागि एउटा रंगशाला आवश्यक थियो । रंगशाला निर्मँण हुनु भनेको खेल क्षेत्रको विकास हुनु हो ।’ आगामी दिनमा रंगशालाले थुप्रै खेलाडी उत्पादन गर्ने उहा“को विश्वास छ । रंगशाला निर्माण भएपछि खेलाडीहरु पनि खुसी भएको उहाँले बताउनुभयो ।
आज शुक्रबार दिउँसो ४ बजे हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले रंगशालाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । निर्माण सकिन अझै एक महिना लाग्ने भन्दै अध्यक्ष घिमिरेले पूर्णरुपमा निर्माण सकिएपछि लागत खर्च सार्वजनिक गर्ने योजना रहेको बताउनुभयो ।