हेटौंडाः सोमबार सडक दुर्घटनासहित विभिन्न घटनामा १० जनाको मृत्यू भएको छ । सोमबार विभिन्न स्थानमा भएको सडक दुर्घटनामा ६ जनाको मृत्यू भएको हो । यस्तै, २ जनाको करेन्ट लागेर र २ जनाको माटोको ढिस्कोमा पुरिएर मृत्यू भएको प्रहरीले जनाएको छ ।
रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर ४ गुण्डीस्थित सडकमा बा. ६ च ९४४७ नम्बरको कारको ठक्करबाट रामकेवल मल्लाहको सोमबार मृत्यू भएको छ । पैदलयात्रा गरिरहेका ५५ बर्षीय रामकेवलको कारको ठक्कर गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै, कैलाली, धनगढी उपमहानगरपालिका–१३ राजपुरस्थित सडकमा बा.२ ख ५१५५ नम्बरको ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यू भएको छ । ट्रकको ठक्करबाट १६ वर्षीया स्वस्तीका कुँवरको सोमबार दिउँसो मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यू भएको हो । ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । त्यसैगरी, नेपालगंज उपमहानगरपालिका–२० राझाँ चोकमा ड्युटीमा खटिएका अस्थायी प्रहरी बिट राझाँ बाँकेमा कार्यरत हवलदारको मोटरसाइकलको ठक्करबाट मृत्यू भएको छ । ३६ वर्षीय प्रहरी हवल्दार भुपेन्द्र शाहीको भे.१० प ४७५७ नम्बरको मोटरसाइकलको ठक्करबाट सोमबार राति मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको नर्सिङहोम नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । साथै सोही मोटरसाइकलको ठक्करबाट घाइते भएका १ जना प्रहरी कर्मचारीको उपचार भईरहेको प्रहरीले जनाएको छ । उक्त चोकमा ट्राफिक सहितको संयुक्त चेकिङ भईरहेको अवस्थामा नेपालगंजबाट कोहलपुरतर्फ जाँदै गरेको मोटरसाइकलले उनीहरुलाई ठक्कर दिएको थियो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै, महोत्तरीको औरही नगरपालिका–४ कठुधारमा अनटेष्ट लेखिएको मोटरसाइकललाई प्र.२–०२–००१ च ०८४१ नम्बरको गाडीले सोमबार राति ठक्कर दिँदा मोटरसाइकल चालक गौशाला नगरपालिका–२ बस्ने २२ वर्षीय संजित मण्डल र मोटरसाइकलमा सवार सम्सी गाउँपालिका–१ पर्सा बस्ने १२ वर्षीय धिरज मण्डलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कपिलवस्तु, वाणगंगा नगरपालिका–२ स्थित सडकमा सु.प्र.प.०१–००१ ख २९५६ नम्बरको ट्रकमा लु.७८ प ९६६१ नम्बरको मोटरसाइकल सोमबार राति ठक्कर खाँदा मोटरसाइकल चालक बुद्धभूमि–८ डुमरा बस्ने ४० वर्षीय गणेश आचार्यको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पिपरा अस्पताल हुँदै एडभान्स सिटी अस्पताल बुटवलमा थप उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै, सोमबार नै सुनसरीको बराहक्षेत्र नगरपालिका–३ बस्ने २७ वर्षीय नबिन कार्कीको करेन्ट लागेर मृत्यु भएको छ । खेतमा मोटरबाट पानी लगाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका कार्कीको घोपा धरान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यता सुर्खेतको बीरेन्द्रनगर नगरपालिका–९ बस्ने ३४ वर्षीय रतन कोईरालाको करेन्ट लागेर सोमबार मृत्यु भएको छ । सोही नगरपालिका–१० स्थित अमन उल्ला अन्सारीको घरमा टायल लगाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको नर्सिङ होम सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो ।
तामाकोशी गाउँपालिका–७ बुकुनिखरी खानीमा काम गर्ने क्रममा माटोको ढिस्कोमा पुरिएर २ जनाको सोमबार दिउँसो मृत्यु भएको छ । मृत्यु हुनेहरुमा धादिङ रोराङ गाउँपालिका–२ राहुलडाँडा बस्ने २२ वर्षीय सन्तोष तामाङ र मकवानपुर स्थायी घर भई धादिङ रोराङ गाउँपालिका–२ राहुलडाँडा बस्ने २३ वर्षीय बसन्त तामाङ रहेका छन् । खानीमा काम गर्ने क्रममा अचानक माथिबाट माटोको ढिस्को खसेर उनीहरु पुरिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी छोडे र ईलाका प्रहरी कार्यालय जिरीबाट खटिएको प्रहरीले स्थानीयबासीको सहयोगमा दुबै जनाको शव फेला पारेको हो ।