हेटौंडाः वैदेशिक रोजगारीबाट फर्किएर आएका कामदारको पुनःस्थापनाबारे चासो दिइएको छ । वैदेशिक रोजगारीबाट फर्किएकालाई ससम्मान पुनःस्थापना गर्न स्थानीय सरकारले कार्यक्रम र बजेटको व्यवस्थापन गर्ने र निरन्तर आवश्यक सहयोग गर्ने हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले बताउनुभयो ।

सुरक्षित अप्रवासन परियोजनाअन्तर्गत् रिटर्नी आप्रवासी कामदारहरुको शुक्रबार जिल्ला भेलालाई सम्बोधन गदै मेयर महतले यस्तो बताउनुभएको हो । हेटौंडा–२ स्थित सिद्धार्थ माविको सभाहलमा आयोजित सुरक्षित अप्रवासन परियोजनाअन्तर्गत् रिटर्नी अप्रवासीहरूको जिल्ला भेलालाई मेयर महतले सम्बोधन गर्दै सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

भेलामा प्रमुख जिल्ला अधिकारी भरतमणि पान्डेले फर्केर आएका कामदारले वैदेशिक रोजगारमा रहँदा सिकेको सीप, अनुभव र पुँजीलाई सही सदुपयोग गर्नुपर्ने बताउनुभयो । स्वदेशमै रोजगारी सिर्जना गर्नु अहिलेको आवश्यकता भएको भन्दै पाण्डेले सुरक्षित वैदेशिक रोजगारीको प्रक्रियाको सूचना व्यापक बनाउन फर्केर आएका कामदारको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । प्रजिअ पाण्डेले वैदेशिक रोजगारीको नाममा हुँदै आएको ठगीको उजुरी हेर्नका लागि जिल्ला प्रशासन कार्यालयमा रहेको अप्रवासी श्रोत केन्द्रमा सिफारिश र सहयोग लिन आह्वान गर्नुभयो ।

आप्रवासी हकहित संरक्षण केन्द्र तदर्थ समिति मकवानपुरका रिमनी लामाको अध्यक्षता सम्पन्न जिल्ला भेलामा सामी परियोजना हेल्भेटास नेपालका कार्यक्रम अधिकृत उमा पौडेल र परियोजना संयोजक अन्जिता थापाले सहभागीलाई वैदेशिक रोजगारीको परिवेश, सुरक्षित आप्रवासनको चक्र, सामी परियोजना र आप्रवासी कामदार सञ्जालको महत्वका बारे सहजीकरण गर्नुभएको थियो । सामी परियोजना नेपाल सरकार र स्वीस सरकारको संयुक्त परियोजना हो । यो परियोजना श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नीतिगत पहल र मकवानपुरका चार स्थानीय सरकारको नेतृत्व र हेल्भेटास नेपालको प्राविधिक सहयोगमा सञ्चालन हुँदै आएको छ ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाको सामाजिक विकास महाशाखा प्रमुख तथा परियोजनाको सम्पर्क व्यक्ति बिष्णुकुमारी लामिछानेले बैशाख महिनामा सम्पन्न हुने स्थानीय तहकोे योजना प्रक्रियामा वैदेशिक रोजगारीका सवाल र फर्केर आएका कामदार लक्षित कार्यक्रमको योजना बनाउन निरन्तर पैरवी गर्न आग्रह गर्नुभयो ।

एकीकृत ग्रामीण विकास सेवाका मिनराज पौडेलको संयोजकत्वमा बनेको निर्वाचन समिति तथा जिल्ला भेलाले रिमनी लामाकै अध्यक्षतामा मकवानपुरको दशै स्थानीय तहहरुको सहभागिता रहने गरी एघार सदस्यीय आप्रवासी हकहित संरक्षण केन्द्रको पूर्ण समिति गठन गरेको छ । सेवाका अध्यक्ष सीता बिष्टले सामी परियोजना कार्यान्वयन गर्दै आएको सेवाप्रदायक संस्थाको हैसियतले वैदेशिक रोजगारीको सवालमा आप्रवासी हकहित संरक्षण केन्द्रसँग निरन्तर समन्वय, सहयोग र सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । संस्थाका लेखा अधिकृत शुभराज लामाले सञ्चालन गर्नुभएको कार्यक्रममा केन्द्रको तदर्थ समितिका सचिव नवराज दुलालले सहभागीलाई स्वागत गर्नुभएको थियो ।