नेपालमा सबै क्षेत्रले गुनासोमात्रै गर्ने गरेका छन् । समस्यामुक्त कुनै क्षेत्र छैन । नागरिकलाई सेवाप्रवाह गर्नुपर्ने जिम्मेवार क्षेत्र आफैं समस्यामा परेका छन् । नागरिकले सेवा सुविधाको अपेक्षा ओझेलमा पर्ने गरेका छन् । कृषि, उद्योग, व्यापार क्षेत्रका आफ्नै गुनासा छन् । कतिपय राज्यको नीतिका कारण समस्या सृजना भएका छन् भने कतिपय आफ्नै कारणले अप्ठेरोमा परेका छन् । सहजीकरण गरिदिनुपर्ने निकायहरु नदेख्ने र नसुन्ने अवस्थामा छन् । विभिन्न माध्यमबाट गुनासो गरे पनि समाधानका लागि ठोस कदम कहीँ कतैबाट नहुँदा जनताले अझै ठूलो अप्ठेरो सहनुको विकल्प छैन । नागरिकको सेवा विस्तार गर्ने भन्दा पनि आफ्नो पक्षबाट मात्र वकालत हुँदा समस्या अझै जटिल बन्दै गएका छन् ।
यातायात क्षेत्रको विकास र विस्तारमा मकवानपुरको ठूलो योगदान छ । सवारी साधनको व्यवसायदेखि चालक, सहयोगीहरुको संख्या मकवानपुरमा धेरै नै छन् । लामो समयदेखि यातायात क्षेत्रमा मकवानपुरले फरक स्थान बनाएको छ । देशकै ठूलो यातायात व्यवसायी संघका रुपमा संगठित हुँदै आएको छ । हेटौंडाका घरघरमा कुनै नै कुनै साधन हुन्छ भन्ने भनाई पुरानो भइसक्यो । अब सबैको घरमा सवारी साधन सामान्य र अत्यावश्यक सेवाका रुपमा लिइन्छ । तर पनि सार्वजनिक यातायात नभई हुँदैन । आमनागरिकले प्रयोग गर्ने सवारी सार्वजनिक यातायात नै हुन् । जनतासँग प्रत्यक्ष जोडिने र सरोकार राख्ने यातायात क्षेत्रका समस्या समाधान गर्न सम्बन्धित पक्षले ध्यान दिनैपर्छ ।
राज्य संघीयतामा गएको लामो समय भए पनि यातायात क्षेत्रमा पुरानै ढाँचाबाट कारोबार गर्नुपर्ने बाध्यता छ । प्रदेशभित्र सञ्चालन भइरहेको गाडीका नम्बरमा प्रादेशीकरण हुन सकेको छैन । ब्लुबुकका आधारमा प्रादेशीकरण गर्न व्यवसायीले गरेको आग्रहलाई राज्यले सुनुवाई नै नगरेको गुनासो छ । समस्या सम्बोधन गरिदिन व्यवसायीले गरेको आग्रह प्रदेश वा संघीय कुनै पनि सरकारले सुनेका छैनन् । विकासको मुख्य आधार नै यातायात हो । यसका लागि आवश्यक पूर्वाधारदेखि सहुलियतको खोजी हुनु स्वभाविक हो । लाखौंको संख्यामा नागरिकलाई रोजगार वा स्वरोजगार बनाएको क्षेत्रले पनि संकट व्यहोर्नुपर्ने अवस्था छ । यस्तो क्षेत्रमा आउने वा भएका समस्या समाधान गर्न संघीय संरचनादेखि प्रदेश सरकार र स्थानीय तहहरुको पनि जिम्मेवारी देखिन्छ ।
लाखौं जनतालाई रोजगारी प्रदान गर्दै आएको यातायात क्षेत्रले देशको कुल गार्हस्थ उत्पादनमा १८ प्रतिशत बढी योगदान पु¥याएको छ । यति ठूलो योगदान गर्ने व्यवसायहरु भने समस्या झेल्न बाध्य छ । दुर्घटनासम्बन्धी कानुनी व्यवस्थाले सार्वजनिक यातायात व्यवसायी र चालकले निकै कठिन परिस्थितिको समाना गर्नुपरेको गुनासो छ । राजनीतिक दलहरुबीच कुरा नमिल्दा वा सरकारको बिरोध गर्नुपर्दा मारमा सार्वजनिक यातायात नै पर्ने गरेका हुन्छन् । पहिलो सेवा दिने क्षेत्रमाथि प्रहार पनि पहिला नै हुने गरेको छ । यातायात क्षेत्रले पनि नागरिकलाई न्याय गरेको अवस्थाचाहिँ छैन । सेवामा लापर्वाह हुनेदेखि भाडाका सवालमा नागरिकका गुनासा छन् । कुनै पक्षबाट पनि गुनासो नआउने गरी नीतिगत र व्यवहारिक पक्षमा सुधार आवश्यक छ ।