Home मुख्य समाचार वनमा तीन तहको कर हट्नुपर्छः सभापति आलेमगर

वनमा तीन तहको कर हट्नुपर्छः सभापति आलेमगर

हेटौंडाः बागमती प्रदेश सभाको उद्योग, पर्यटन तथा वातावरण समितिकी सभापति रमा आलेमगरले वनमा तीनै तहका सरकारले लगाएको कर व्यवस्था हटाइनुपर्ने बताउनु भएको छ । बागमती प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयले शुक्रबार हेटौंडामा आयोजना गरेको ‘वन, वातावरण र विकासका आयामः संघ, प्रदेश र स्थानीय सरकारहरुमा कानुनी अधिकारको बाँटफाट’ विषयक कार्यशालामा सभापति आलोमगरले उमेर पुगेका रुख काट्ने र नयाँ बिरुवा रोप्नु पर्ने बताउनुभयो । समुदायले संरक्षण गरेको वनबाट समुदायले लाभ हासिल गर्न पाउनुपर्ने सभापति आलेमगरको भनाई थियो ।

संघीय सरकार, प्रदेश सरकार र सामुदायिक वन उपभोक्ता महासंघका प्रतिनिधिको सहभागितामा बागमती प्रदेशका वन तथा वातावरण मन्त्री विशाल खड्काको अध्यक्षता तथा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको प्रमुख आतिथ्यमा कार्यशालाको आयोजना भएको हो । कार्यशालामा बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयका सचिव यज्ञनाथ दाहालले नेपालको वन व्यवस्थापन अवसर तथा चुनौतिको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । नेपालमा ४५.७५ प्रतिशत वनक्षेत्र रहेको छ । वनलाई भौगोलिक रुपमा तराई, चुरे क्षेत्र, मध्यपहाडी क्षेत्र, उच्च पहाड तथा हिमाली क्षेत्र गरी चार भागमा विभाजन गरिएको छ ।

कार्यशालामा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले वनको संरक्षण गर्नुपर्ने बताउनुभयो । प्रदेश सरकारले वनको संरक्षण र प्रयोगलाई प्राथमिकता दिने बताउनुभयो । बागमती प्रदेश सरकारका वन तथा वातावरणमन्त्री विशाल खड्काले प्राकृतिक स्रोत तथा वित्त ऐन र अन्तरसरकारी वित्त व्यवस्थापन ऐन परिमार्जन गर्न आवश्यक रहेको बताउनु भयो । वन ऐन २०७६ बाझिएकाले परिमार्जन गनुपर्ने पनि मन्त्री खड्काको भनाइ छ । आपसमा बाझिएका कानुनी व्यवस्थाहरु परिमार्जन नभएसम्मका लागि संविधानको मर्म बमोजिम कार्य सञ्चालन गर्न व्यवस्था मिलाउनुपर्ने बताउनुहुँदै वन ऐन २०७६ का दश वटा सकारात्मक व्यवस्थाहरु कार्यान्वयनमा ल्याउनु पर्ने उहाँले बताउनु भयो ।

कार्यक्रममा संघीय सरकारका वन तथा वातावरण मन्त्री रामसहाय यादव, बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, बागमती प्रदेशका मन्त्रीहरु, अन्य प्रदेशका वन तथा वातावरण मन्त्रीहरुको पनि सहभागिता रहेको थियो ।

Exit mobile version