Home समाज विकट राक्सिराङमा खाद्यअधिकार चुनौतिपूर्ण

विकट राक्सिराङमा खाद्यअधिकार चुनौतिपूर्ण

निगुरेटार (राक्सिराङ)ः कृषि प्रधान देश भएपनि मकवानपुरमा खाद्य सुरक्षित छैन । मकवानपुरको विकट क्षेत्र राक्सिराङ गाउँपालिकामा खाद्य सुरक्षाको अवस्था सुनिश्चित छैन । फियान नेपालको आयोजनामा मकवानपुरको विकट क्षेत्र राक्सिराङ गाउँपालिका–५ निगुरेटार (धेनेराङ) मा समुदायस्तरीय खाद्य अधिकार तथा खाद्य संप्रभुताको अवधारणा र कानुनी प्रावधानबारे अभिमुखीकरण कार्यशालामा खाद्य सुरक्षा सुनिश्चित नभएको बताइएको हो ।

अभिमुखीकरणमा सहभागी लाली प्रजाले गहुँ, कोदो, मकै र धान राक्सिराङको मुख्य खाद्यबाली भए पनि आफूले गरेको मिहिनेत र परिश्रम अनुसार उत्पादन हुन नसकेको जानकारी दिनुभयो । कृषकहरुलाई एउटा बाख्रा र कुखुरापालनमा अभिप्रेरित गरे आर्थिक समस्याबाट अलि माथि उठ्न सकिने प्रजाले उल्लेख गर्नुभयो । यसैगरी राक्सिराङ खाद्यमा मात्र नभई शिक्षा र स्वास्थ्यबाट पनि असुरक्षित रहेको सजिवन प्रजाले दावी गर्नुभयो ।

बाइकलाई पेट्रोल चाहे झैं भोक मेटाउन खाना चाहिन्छ तर ६-६ महिनाकै लागि खाद्य सामग्री जुटाउन सक्दैन जसकारण खाद्य सुरक्षाको अवस्था नभएको विशाल प्रजाले जानकारी दिनुभयो । ज्यालादारी तथा कृषि उब्जनी नै मुख्य आर्थिक आयको स्रोत रहेको मनोज प्रजाले बताउनुभयो । कृषकका लागि तालिम छैन त्यसमाथि भिरालो जमिनमा कसैको अन्न नै उब्जनी नहुने उहाँले जानकारी गराउनुभयो । राक्सिराङमा प्राकृतिक प्रकोपका कारण मात्र नभई खेतीबालीमा लाग्ने विभिन्न रोगले विगत २ वर्षदेखि मकै र धानको उत्पादनमा कमि आएको बताइएको छ ।

‘बाँच्न पाउने अधिकारको आधारः खाद्य अधिकार’ विषयमा लक्ष्मी गुरुङले प्रजा समुदायलाई प्रशिक्षण दिनुभएको थियो । भोकमरी निम्तिन नदिन खाद्य अधिकारबारे राज्यले नीतिनिर्माण तथा योजना तर्जुमा गरिए पनि कार्यान्वयन गर्न नसकिएको गुरुङले बताउनुभयो । खाद्यलाई सुरक्षित गर्ने ७ आयामबारे प्रजा समुदायलाई गुरुङले प्रस्ट पार्नुभयो । बाँचुन्जेल मानिसलाई खाद्यान्न उपलब्धता, पर्याप्त पहुँच र दिगो भए मात्र खाद्य अधिकार प्रत्याभूत हुने उहाँ बताउनुभयो ।

खाद्य अधिकार सुनिश्चित गराउन मानिसमा चेतनाको कमि भएकाले यस्ता समस्या बोक्नुपरेको सहभागीको धारणा थियो । सबैभन्दा बढी जोखिमयुक्त रहेका प्रजा तथा चेपाङ समुदायको बस्तीमा खाद्य अधिकार तथा पोषण सुरक्षा सम्बन्धी सचेतना उजागर गर्ने उद्देश्यले प्रशिक्षण गरिएको हो । खाद्य अधिकारको पक्षमा पैरवी गर्दै आएको संस्थाले आगामी दिनमा राक्सिराङ क्षेत्रका चेपाङ समुदायको पैरवी क्षमता विकास गर्दै आएको छ । ती समुदायका व्यक्तिहरुको खाद्य अधिकार हनन्का सवाललाई सम्बन्धित निकायमा आफ्ना अधिकारलाई उठान गर्न सक्षम बनाउने र खाद्य अधिकारको जोखिममा रहेको प्रजा समुदायलाई खाद्य सुरक्षित बनाउने सहजकर्ता गुरुङले बताउनुभयो ।

फियान मकवानपुरले विगत ८ वर्षदेखि मकवानपुरमा खाद्यअधिकारका दृष्टिले जोखिममा रहेका समुदायहरु बोटे, दनुवार र प्रजा केन्द्रित रही कार्य गर्दै आइरहेको छ । यसका साथै राक्सिराङ गाउँपालिकाको खाद्य पोषण सुरक्षा रणनीति योजना तर्जुका बारेमा गुरुङले सहजीकरण गर्नुभएको थियो ।

Exit mobile version