हेटौंडाः हेटौंडा बजारको सीमाचोकमा चिया पसल सञ्चालन गर्दै आउनुभएका जेठा दाई (बुद्धिबहादुर श्रेष्ठ) को मृत्यु भएको १३ पूण्यतिथिमा शुक्रबार श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ । हेटौंडाकै चर्चित चिया व्यवसायी जेठा दाईको सवारी दुर्घटनामा परी मृत्यु भएको थियो ।
नेकपा (एमाले) हेटौंडा उपमहानगरपालिका १० नम्बर वडा कमिटीका सदस्य समेत रहनुभएका जेठा दाईप्रति श्रद्धाञ्जली सभाको आयोेजना नेकपा एमाले १० नम्बर वडा कमिटीले आयोजना गरेको हो । हेटौंडा–१०, टिसिएनरोडस्थित जेठा दाईको घरमै श्रद्धाञ्जली सभाको आयोजना गरिएको हो । १० नम्बर वडा कमिटीका अध्यक्ष राजकुमार बिकको अध्यक्षता भएको श्रद्धाञ्जली सभामा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले जेठा दाई उद्यमी, परिश्रमी भएको बताउनुभयो । चिया पसल गरेर घरव्यवहार चलाउनुका साथै हेटौंडा बजारमा घर बनाउनु अरुका लागि पनि सिकाई र प्रेरणाको विषय भएको पौडेलले बताउनुभयो ।
नेकपा एमाले मकवानपुर जिल्ला कमिटी सदस्य ईन्द्रप्रसाद नेपालले जेठा दाईको जीवनी, उहाँले समाज र पार्टीलाई पुर्याउनु भएको योगदानको बारेमा प्रकाश पार्नु भएको थियो । शोकसभामा एमालेका नेता, कार्यकर्ता, टोलबासीलगायत आमन्त्रित व्यक्तिले जेठा दाईको तस्वीरमा माल्यार्पण गरी श्रद्धासुमन व्यक्त गर्नुका साथै परिवारजनमा समवेदना व्यक्त गरेका थिए ।
