हेटौंडाः जिल्ला प्रहरी कार्यालय मकवानपुरको परिसरमा रहेको बालमैत्री कक्ष तथा स्तनपान कक्षलाई सामग्री सहयोग गरिएको छ । बालमैत्री कक्ष तथा स्तनपान कक्षका लागि अन्तर्राष्ट्रिय दातृ निकाय प्लान इन्टरनेशनलसँगको साझेदारीमा राडो नेपाल मकवानपुरले सामग्री सहयोग गरेको हो ।
शुक्रबार जिल्ला प्रहरी कार्यालयमै पुगेर राडो नेपाल मकवानपुरका कार्यक्रम संयोजक दीपेन्द्र पाठकले २ लाख रुपैयाँ बराबरको सामग्री हस्तान्तरण गर्नुभएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रकी प्रमुख प्रहरी निरीक्षक चुडा खड्कालाई कार्यक्रम संयोजक दीपकेन्द्र पाठकले सामग्री हस्तान्तरण गर्नुभएको हो ।

राडो नेपाल मकवानपुरले बालमैत्री कक्ष एवम् स्तनपान कक्षका लागि ल्यापटप, प्रिन्टर, टिभि, बालपुस्तक व्याग हस्तान्तरण गरेको छ भने बालमैत्री कक्षको रंगरोगन, ढोका जडान, भित्ते लेखन, भुईमा कार्पेटिङ र ओछ्यान, तन्ना सहयोग गरेको छ । बालमैत्री कक्ष र स्तनपान कक्षका लागि गरिएको सहयोगले जिल्ला प्रहरी कार्यालयमा आउने सेवाग्राहीलाई सहज हुने कार्यक्रम संयोजक पाठकले विश्वास व्यक्त गर्नुभएको छ ।
सहयोग सामग्री ग्रहण गर्नुभएपछि प्रहरी निरीक्षक खड्काले बालमैत्री कक्ष तथा स्तनपान कक्षको उचित व्यवस्थापनमा सामाजिक संस्थाबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्नुभयो । बालमैत्री कक्ष स्थापना गरिए पनि बालबालिकाले सहजरुपमा उपयोग गर्ने नभएको स्वीकार्नुहुँदै अहिले प्राप्त सहयोगबाट व्यवस्थापन गरिएको बालमैत्री कक्ष उपयोगी र प्रभावकारी हुने खड्काले बताउनुभएको छ ।











